इरानमा सरकारविरोधी प्रदर्शन चर्कियो
काठमाडौँ । इरानमा राजधानी तेहरानसहित देशका सबैजसो शहरमा लाखौँ मानिस सडकमा उत्रिएका छन्। दुई हप्तादेखि जारी सरकारविरोधी आन्दोलन दबाउन सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि सिधै गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या बढेको छ। तेहरानका अस्पतालहरूमा मात्रै २१७ जनाको मृत्यु भएको र सयौँको संख्यामा घाइतेहरू उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मानवाधिकारवादी संस्थाहरूका अनुसार कतिपय अस्पतालहरूमा घाइतेको अत्यधिक चापका कारण स्वास्थ्य सेवा पनि अस्तव्यस्त बनेको छ।
प्रदर्शनकारीहरूले वर्तमान शासन व्यवस्थाको अन्त्यको माग गरिरहेका छन् भने सरकारले उनीहरूलाई विदेशी एजेण्ड तथा ईश्वरका सत्रुका रुपमा दमन बढाइरहेको छ। यसैबीच, अमेरिकाले सिरियामा सक्रिय आतंकवादी समूह आईएसविरुद्ध ठूलो स्तरको हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अपरेसन हकाय स्ट्राइक अन्तर्गत सिरियाका ३५ भन्दा बढी स्थानमा ९० वटा भन्दा धेरै निसानामा प्रहार गरेको छ। गएको महिना पाल्मिरामा भएको एक एम्बुस आक्रमणमा दुई अमेरिकी सैनिक र एक दोभासेको मृत्यु भएपछि अमेरिकाले यो जवाफी कारबाही तीव्र पारेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमण गर्नेलाई संसारको जुनसुकै कुनामा भए पनि खोजेर सिध्याउने चेतावनी दिएको छ। यो कारबाहीमा अमेरिकी वायुसेनाका २० भन्दा बढी लडाकु विमान र हेलिकप्टर प्रयोग गरिएको छ । – एजेन्सी
