इरानमा सरकारबिरुद्ध प्रदर्शन : ५०० जनाको मृत्यु, हजारौँ प्रदर्शनकारी पक्राउ
काठमाडौँ । इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ । अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
त्यस्तै साढे १० हजारभन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेका छन्। इरान सरकारले भने मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरेको छैन। बरू उसले अमेरिकी मानवअधिकारवादी समूहले सार्वजनिक गरेको विवरणमा सत्यता नभएको बताएको छ । सुरूवातमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ। यसमा अमेरिकाको भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शन सुरू भएपछि आफू प्रदर्शनकारीको पक्षमा रहेको बताएका थिए। त्यति मात्रै होइन प्रदर्शनकारीमाथि गोली चलाए त्यसमा अमेरिकाले प्रदर्शनकारीको सुरक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी दिएका थिए। – एजेन्सी
