नेपाली कांग्रेसको विशेष महाधिवेशन : आजदेखि बन्द सत्र

२०८२ पुष २८ गते, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुने भएको छ । भृकुटीमण्डपमा हिजोबाट सुरु भएको विशेष महाधिवेशन आजबाट बन्दसत्र चरणमा प्रवेश गरेको हो । व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ ।
उद्घाटन सत्र सम्पन्न भएपछि हिजो रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । आज बिहानबाट पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने पोखरेलले जानकारी दिए । हिजो राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसके छन् । विशेष महाधिवेशन आयोजकका अनुसार कुल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका छन् ।
बन्द सत्रमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सांगठनिक र राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । छलफलका लागि प्रदेशस्तरिय ७ तथा विदेशस्थित जनसम्पर्क समिति र भ्रातृसंस्था मिलाएर १ गरि आठ वटा समूह बनाइने छ । विधान संशोधनका लागि समिति बनाइने र विधानमै संशोधन गर्ने वा पछि गर्ने गरि संकल्प प्रस्ताव पारित गर्ने विषयमा पनि बन्द सत्रले नै निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]