त्रिशूली नदी किनारमा फेला परेको बसको उत्खनन जारी
काठमाडौँ । तनहुँको त्रिशूली नदी किनारमा फेला परेको बसको सोमबार पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभरी बसको उत्खनन गरेका थिए । सोमबार पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार बिहान पौने ११ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
उक्त बस २०८१ साल असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने प्रहरी कार्यालय तनहुँले जनाएको हो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ ।
घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रहरीले बताएको छ। हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय तनहुँले जनाएको हो ।
