गंगालाल हृदय केन्द्रद्वारा स्वास्थ्य बीमा कार्यक्रम बन्द
काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाउदै स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । अस्पताल प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको छ । कार्यक्रम स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले बीमा बाेर्डले भुक्तानी ढिलाइका कारण सेवा बन्द गर्नुपरेकाे जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमाबाट मात्र करिब १४ करोड लिन बाँकी छ । बीमा बोर्डले विपन्न कार्यक्रम पनि आफैं हेर्न थालेपछि झनै समस्या बढेको डा. मल्लको भनाइ छ । यसमा विपन्न नागरिक औषधि उपचार कोष (कडा रोग लागेका बिरामीलाई एक लाखसम्म सहयोग) जोडिएपछि थप २५ करोड लिन बाँकी रहेको उनले बताए । उनले भने- ‘पहिला विपन्नको दाबी सजिलै पास हुन्थ्यो, अहिले बीमाले हेर्दा झमेला बढ्यो र बक्यौता झ्याप्पै बढ्यो , बाध्यताले सेवा बन्द गर्नुपर्याे ।’
