ट्रम्पद्वारा गाजाको पुनर्निर्माण गर्न ‘बोर्ड अफ पिस’ गठन

२०८२ माघ ४ गते, शनिबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको पुनर्निर्माण गर्न ‘बोर्ड अफ पिस’ गठनको घोषणा गरेका छन्। उनले गाजामा युद्धविरामका निम्ति पेस गरिएको २० बुँदे प्रस्तावानुसार ‘बोर्ड अफ पिस’ घोषणा गरेका हुन् ।
ट्रम्पले बोर्ड अफ पिसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरसहित आफ्ना ज्वाइँ जेरेड कुश्नरलाई पनि समावेश गरेका छन् । टोनी ब्लेयर बोर्डको संस्थापक सदस्यमध्ये एक हुनेछन् । अरू संस्थापक सदस्यमा कुश्नर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका पश्चिम एसियाका निम्ति विशेष दूत स्टिभ विट्कफ रहेका ह्वाइट हाउसले शुक्रबार जानकारी गराएको छ ।
टोनी ब्लेयर सन् १९९७ देखि २००७ सम्म बेलायतको प्रधानमन्त्री थिए । उनकै नेतृत्वमा बेलायत इराक युद्धमा सामेल भएको थियो । प्रधानमन्त्री पद छाडेपछि ब्लेयरले अमेरिका, युरोपेली संघ, रुस र संयुक्त राष्ट्रसंघका तर्फबाट पश्चिम एसियाका निम्ति विशेष दूतका रूपमा काम गरेका थिए ।
बोर्ड अफ पिसका अरू सदस्यमा अपोलो ग्लोबल म्यानेजमेन्टका सीईओ मार्क रोभेन, विश्व बैंकका अध्यक्ष अजय बंगा र अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ग्याब्रियलको नाम समावेश गरिएको छ । ट्रम्प आफैँ यो बोर्डको अध्यक्ष छन् । बोर्डका सदस्यले गाजामा स्थिरता ल्याउन र दीर्घकालीन विकास योजनाका निम्ति काम गर्नेछन् । यसमा शासन क्षमताको विकास, क्षेत्रीय सम्बन्ध, गाजाको पुनर्निर्माण, लगानी, वित्तपोषण र पुँजी जुटाउने काम पर्छन् । बोर्ड अफ पिसबाहेक एउटा छुट्टै १५ सदस्यीय प्यालेस्टाइनी प्राविधिक समिति पनि बनाइएको छ । यसको नाम नेसनल कमिटी फर द एडमिनिस्ट्रेसन राखिएको छ । यसले गाजाको प्रशासन हेर्नेछ । यो समितिको अध्यक्षमा प्यालेस्टाइनी अथोरिटीका पूर्वउपप्रधानमन्त्री अली शाथ रहनेछन् । बुल्गेरियाका नेता निकोलाई म्लादेनोभ पनि यसको सदस्य बनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]