आज केही स्थानमा मेघगर्जन चट्याङसहितको वर्षा-हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको हो। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक रुपमा बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो ।
त्यस्तै, शुक्रबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, शुक्रबार राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो । गण्डकी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशको केही स्थानमा मध्यम हिमपात-वर्षाको सभावना रहेको छ । साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा पनि हल्का हिमपात-वर्षाको सम्भावना रहेको हो । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
