ट्रम्पद्वारा क्यानडाविरुद्ध शतप्रतिशत भन्सार शुल्क लगाउने चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका भित्रिने सबै सामानमा १०० प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई कडा शब्दमा सचेत गराएका हुन्। ट्रम्पले भनेका छन्, ‘यदि कार्नीले क्यानडालाई चीनका लागि अमेरिकामा सामान पठाउने ‘ड्रप अफ पोर्ट’ (ट्रान्जिट) बनाउन चाहनुहुन्छ भने उहाँ सरासर गलत हुनुहुन्छ।’
ट्रम्पले चीनसँगको बढ्दो सामीप्यले क्यानडाको अस्तित्व नै संकटमा पर्ने दाबी गरेका छन् । उनका अनुसार, चीनले क्यानडाको व्यवसाय, सामाजिक संरचना र जीवनशैलीलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउनेछ।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्-‘चीनले क्यानडालाई एक वर्षभित्रै खाइदिनेछ। क्यानडाले चीनसँग सम्झौता गर्नासाथ वासिङ्टनले तुरुन्तै क्यानेडियाली उत्पादनमा १०० प्रतिशत कर वृद्धि गर्नेछ।’
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जनवरी १३ देखि १७ सम्म चीनको भ्रमण गरी ऐतिहासिक व्यापार सम्झौता गरेका थिए। उक्त सम्झौताअनुसार क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) मा लगाउँदै आएको १०० प्रतिशत करलाई घटाएर ६.१ प्रतिशतमा झार्ने निर्णय गरेको छ। यसको बदलामा चीनले क्यानेडियाली कृषि उत्पादनमा लगाउँदै आएको ८४ प्रतिशत करलाई १५ प्रतिशतमा झारेको छ। अमेरिकाले चिनियाँ सामानमा कडा प्रतिबन्ध लगाइरहेका बेला क्यानडाले चालेको यो कदमले ट्रम्पलाई क्रुद्ध बनाएको हो।- एजेन्सी
