भ्रष्ट र दलालहरुलाई बहिष्कार गरौँ

२०८२ माघ १२ गते, आईतवार

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य समाप्त भइ सकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न नयाँ र पुराना राजनीतिक दल र व्यक्तिहरुले समेत सहभागिता जनाएका छन्, र उनीहरु आफ्नो पक्षमा मतदान गराउन प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा निस्किएका छन् । यो निर्वाचन विगतको जस्तो नभएर देश र जनताको भविष्य निर्धारण गर्ने निर्वाचन हो । किनकी देशमा भएको चरम भ्रष्टाचार, नातावाद, आर्थिक गतिहीनता र राजनीतिक अस्थिरताप्रतिको गहिरो निराशाका बीच गत भदौ २३ गते जेन–जीको आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनमा ६ दर्जन भन्दा बढी होनहार युवाहरुले सहादत प्राप्त गरेका थिए भने सयौं युवाहरु घाइते भएका थिए । देशको अरबौ रुपैयाको सार्वजनिक र निजी सम्पति ध्वस्त भएको थियो । तर जेन–जीले उठाएको मागको कुनै सुनुवाई भएन, जेन–जीको आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो तर, समस्या ज्यूँ का त्यूँ रह्यो ।

यति बेला जेन–जीले उठाएको भ्रष्टाचारविरुद्ध र सुशासन कायमको प्रश्न अलपत्र परेको छ । जेन–जीले उठाएको कार्यकारी शासन प्रणाली, भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्ने आवाज सुशीला कार्कीको नेतृत्वमा सरकार गठनसँगै बन्द हुन् पुगेको छ । अब यही राज्य प्रणाली, संविधान र फागुन २१ गतेपछि व्यूँतने संघीय संसद्ले न जेन–जीको माग पुरा गर्न मुस्किल देखिन्छ ।

तसर्थः आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुनै पनि नयाँ र पुराना दलका भ्रष्ट र दलालहरुलाई बहिष्कार गर्नु पर्छ । विगतका निर्वाचनमा जस्तै नयाँ र पुराना दलका भ्रष्ट र दलालहरुको ललिपपमा रमाए देशको अस्तित्व नै मेटिन सक्ने सम्भावना छ । त्यसकारण आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसैको दवाब र लोभलालचमा नपरी सच्चा क्रान्तिकारी, देशभक्त र जनउत्तरदायी दल र नेतालाई मतदान गर्नुको विकल्प छैन । अन्यथा देशको साथै आमस्वाभिमानी जनताको भविष्य चौपट हुने निश्चित छ ।

प्रतिक्रियाहरु

[anycomment]