सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ
काठमाडौँ । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। तर, बुधबार फेरि मूल्य बढ्दै प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आजको मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला नौ हजार पाँच सय रूपैयाँले महँगो हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको देखिन्छ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार प्रतितोला ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार सात हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ३० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
