बेलायतका प्रधानमन्त्री स्टार्मर चीन भ्रमणमा
काठमाडौँ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा उनीसँग करिब ६० जना बेलायती व्यापारी तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू रहेको बीबीसीले जनाएको छ । यसमा एचएसबीसी बैंक, औषधि कम्पनी जीएसके, जगुआर ल्यान्ड रोभर र नेसनल थिएटरका प्रतिनिधिहरू समावेश छन् ।
चीनसँग बेलायतको सम्बन्ध पुन: सुदृढ गर्ने सरकारको प्रयासअन्तर्गत यो भ्रमणलाई अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण र ताजा कदमका रूपमा हेरिएको छ । तर आलोचकहरूले भने चीनको नीति र सोच फरक रहेको, उसमाथि पूर्ण भरोसा गर्न नसकिने र कम्युनिस्ट पार्टीसँगको सम्बन्धमा सरकार अझ सतर्क हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री स्टार्मरसँग राष्ट्रपति सी जिनपिङसँगको भेटमा मानवअधिकार उल्लंघनको विषय उठाइने कि नउठाइने भन्ने प्रश्न गरिएको थियो । त्यसमा उनले ‘जहाँ हित र मूल्यहरूमा भिन्नता छ, त्यस्ता विषय उठाइने’ प्रतिक्रिया दिएका छन् ।
चीनमाथि उत्तर–पश्चिमी क्षेत्र शिनजियाङमा उइगर समुदाय तथा अन्य मुस्लिम जातीय समूहविरुद्ध मानवअधिकार उल्लंघन गरेको आरोप लाग्दै आएको छ ।
स्टार्मर सन् २०१८ पछि चीन जाने पहिलो बेलायती प्रधानमन्त्री हुन् ।
