वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल लगिएका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। १९ मे १९५७ मा जन्मिएका थापाले ४ दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगका विविध पक्षमा योगदान दिए । उनको करिअर चाहिँ मोडलिङबाट सुरु भएको हो । सन् १९७४ मा मुम्बईमा मोडलका रूपमा काम गर्दै उनले बिन्नी र माफतलाल जस्ता प्रतिष्ठित ब्रान्डका लागि काम गरे । प्रारम्भिक समयमा उनी मोडलिङमा मात्र सीमित रहेनन्, फुटबल खेलाडी पनि बने । त्यहाँका आइसीएल क्लब बम्बे तथा ओर्केज स्पोर्ट्स क्लबसँग पनि खेले । मोडलिङसँगै ‘जुनियर स्टेट्सम्यान म्यागजिन’ मा फोटो पत्रकार बने । सन् १९७४ को भुटानमा भएको राज्याभिषेकको कभरेज गरेका थिए ।
नेपाली तथा भारतीय सिने क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले दर्जनौँ नेपाली चलचित्रका काम गरेका छन्। मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्।
