१०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ माघ २८ गते, मंगलवार


काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू ‘प्याकिङ’ कार्यसमेत पूरा भइसकेको र हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ गरिएको उनले जानकारी दिए।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरका मतपत्र छपाइ सम्पन्न भएको छ। यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट–सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङका मतपत्र पनि छपाइ भइसकेका छन्। यसका साथै लमजुङ, तनहुँ, स्याङ्जा र बर्दियासहित कूल ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतका मतपत्र छपाइ कार्य गत पुस २२ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस २६ गतेदेखि सुरु गरिएको मतपत्र छपाइ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ तथा रुजु सम्पन्न गरिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका लागि आयोगले दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने जनाएको छ। सो प्रणालीअन्तर्गतको मतपत्र छपाइ माघ १६ गते बिहानदेखि सुरु भएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु