नेपालको कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रान्तिकारी घेरा ः वैचारिक विचलन र वर्ग समर्पणको परिणाम

२०८२ माघ २८ गते, मंगलवार

योद्धा सी

नेपालको कम्युनिष्ट आन्दोलन कुनै संयोगको उपज होइन, यो सामन्ति शोषण, निरंकुश राजन्त्र र दलाल संसदीय राज्यसत्ता र साम्राज्यवादी हस्तक्षेपविरुद्ध जनताले गरेको लामो वर्गसंघर्षको परिणाम हो । जनयुद्ध, जनआन्दोलन र गणतन्त्र स्थापनासम्म आइपुग्दा कम्युनिष्ट आन्दोलनले ऐतिहासिक जिम्मेवारी पूरा गरेको थियो तर आज त्यो आन्दोलनको र नेतृत्व मा गम्भीर प्रतिक्रान्तिकारी घेराभित्र फसिरहेको देखिन्छ यो घेरा बाहिरबाट मात्र होइन, आन्दोलनकै नेतृत्व र संरचनाभित्रबाट कसिँदै गएको तथ्यलाई स्वीकार गर्नु आत्मघाती हुनजान्छ किन भने माक्र्सवादले स्पष्ट रूपमा भन्नु हुन्छ क्रान्तिको सबैभन्दा ठूलो खतरा अवसरवाद हो यो कुरा नेपालमा आज देखिएको छ त्यो प्रतिक्रान्तिकारी प्रवृत्ति यही अवसरवादको विकसित रूप हो । किनभने क्रान्तिकारी नाराहरूलाई मुखमै सीमित राख्दै व्यवहारमा पूँजीवादी संसदीय व्यवस्थाको रक्षा गर्ने, वर्गसंघर्षलाई ‘अतिवाद’ भनेर बदनाम गर्ने र वर्गसमन्वयलाई ‘राजनीतिक परिपक्वता’ का रूपमा प्रस्तुत गर्ने प्रवृत्ति नैं प्रतिक्रान्तिको वैचारिक आधार हो । यही आधारमा कम्युनिष्ट आन्दोलन क्रमशः आफ्नो वर्गीय चरित्र गुमाउँदै गएको छ । त्यो सबै भन्दा धेरै गणतन्त्रपछिको चरणमा कम्युनिष्ट नेतृत्वको ठूलो हिस्सा सत्ता, पद र सुविधाको दलदलमा फसेको यथार्थ लुकाउन सकिँदैन । किन भने राज्यसत्तालाई वर्गीय उपकरणको रूपमा बुझ्ने र माक्र्सवादी दृष्टिकोण परित्याग गर्दै राज्यलाई ‘सबैको साझा संरचना’ भनेर व्याख्या गर्नु प्रतिक्रान्तिकारी विचलनको स्पष्ट उदाहरणहरु हुन ।

यसले शोषित वर्गको राजनीतिक चेतनालाई कमजोर पार्दै आन्दोलनलाई व्यवस्थाभित्रै विलय गराउने काम हिजोका क्रान्तिकारी भन्नेहरुले गरेका छन् । प्रतिक्रान्तिकारी घेराको अर्को महत्वपूर्ण पक्ष वैचारिक पतन हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्त होइन, की औपचारिक दस्तावेज र भाषणमा प्रयोग हुने शब्दावलीमा सीमित गरेर पछि नेपाल कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रान्तिकारी धाराहरू एकपछि अर्को गर्दै आएको देखिन्छ । त्यो भनेको सिद्धान्त र व्यवहारबीचको गहिरो खाडलले कार्यकर्तालाई निराश, दिशाहीन र निष्क्रिय बनाएको छ । यिनी कुराहरु जब विचार वर्गसंघर्षबाट अलग हुन्छ, त्यहीँबाट प्रतिक्रान्ति संस्थागत रूपमा विकास हुन्छ यो कुरा आज नेपाली कम्युनिष्ट पार्टी र त्यसको मूल नेतृत्वहरूमा देखियो ।

 अर्काको कुरा अन्तर्राष्ट्रिय पूँजीवादी शक्ति र साम्राज्यवादी केन्द्रहरूले पनि यो अवस्थालाई मलजल गरेर विकास, स्थायित्व र लोकतन्त्रका नाममा दिइने आर्थिक सहायता, गैरसरकारीकरण र वैचारिक प्रभावमार्फत उनीहरूले आन्दोलनभित्रका अवसरवादी शक्तिलाई संरक्षण गरिरहेका हुन्छन् ।

राष्ट्रिय स्वाधीनता र वर्गीय हितभन्दा बाह्य स्वार्थलाई प्राथमिकता दिनु प्रतिक्रान्तिकारी चरित्रको स्पष्ट संकेत हो । यो कुरा बजारमा एकताका कुरा गर्नेहरूमा देखिन्छ । तर, इतिहास साक्षी छ कुनै पनि प्रतिक्रान्तिकारी घेरा स्थायी हुँदैन । त्यसलाई तोड्ने शक्ति क्रान्तिकारी विचार, संगठनात्मक अनुशासन र जनतासँगको गहिरो सम्बन्धमा निहित हुन्छ । आत्मालोचना र जनसमालोचनाबाट भाग्ने होइन, त्यसलाई आन्दोलनको जीवन्त अभ्यास बनाउनु आजको अनिवार्य विषय भएर आएको छ ।

वर्गसंघर्षको धार पुन तेज नगरी समाजवादको कुरा गर्नु आत्मछलना मात्र हुनेछ । किन भने कम्युनिष्ट पार्टीहरूमा त्यो कुरा देखिँदै आएको छ यो प्रश्न स्पष्ट छ नेपालको कम्युनिष्ट आन्दोलन प्रतिक्रान्तिकारी आत्मसमर्पणको मार्गमा जाने कि पुनः क्रान्तिकारी रूपान्तरणको दिशामा अघि बढ्ने भने कुरा आज नेपालको इतिहासले सम्झौता गर्नेहरूलाई होइन, संघर्ष गर्नेहरूलाई नै न्याय गरेको देखिन्छ ।

यदि आन्दोलनले आफ्नो वैचारिक शुद्धता, वर्गीय प्रतिवद्धता र जनमुखी दिशा पुनः स्थापित गर्न सकेन भने प्रतिक्रान्तिकारी घेराले यसलाई भित्रैबाट समाप्त पार्ने सक्छ त्यसैले गर्दा आजको मुख्य कार्य प्रतिक्रान्तिकारी प्रवृत्तिको निर्भीक पहिचान, गरी वैचारिक पर्दाफास र त्यसविरुद्धको संगठित संघर्ष नै कम्युनिष्ट पार्टी माओवादीहरूको मुख्य एजेण्डा रहेको छ ।

रातो झण्डाको छायाँभित्रबाट फैलिँदै गएको प्रतिक्रान्ति यो देशको एउटा शक्तिशाली राजनीतिक धार कहिल्यै सामान्य थिएन । त्यसको जन्म नै शोषणविरुद्धको विद्रोहबाट भएको थियो, र यसको पहिचान श्रमजीवी वर्गको मुक्तिसँग गाँसिएको थियो । तर आज त्यो धार आफ्नै छायाँभित्र अल्मलिएको देखिन्छ । बाहिर रातो झण्डा फहराइ रहे पनि भित्र त्यसको वैचारिक रंग फिक्का बन्दै गएको यथार्थ गम्भीर चिन्ताको विषय बनेको छ ।

समस्या बाह्य दबाब मात्र होइन, भित्री रूपमा वैचारिक विचलनले काम गरेको हो । क्रान्तिको भाषालाई निरन्तर दोहो¥याइए पनि व्यवहार बीचको व्यवस्थाको सीमाभित्र सिमित छ । वर्गसंघर्षको कुरा कागजमा सजिन्छ, तर व्यवहारमा वर्गसमन्वयलाई ‘परिपक्वता’ का रूपमा प्रस्तुत गरिन्छ । यहीँबाट प्रतिक्रान्तिकारी सोच संस्थागत हुन थाल्छ किनभने नारामा विद्रोह, नीतिमा सम्झौता भएको देखिन्छ । सत्ताको नजिक पुगेपछि उद्देश्य परिवर्तन हुनु संयोग होइन । आन्दोलनको केन्द्र जनताबाट सर्दै संरचनातर्फ गएको छ । पद सुविधा र व्यवस्थापनको भाषाले क्रान्तिकारी धारलाई क्रमशः निष्क्रिय बनाएको हुन्छ र राज्यलाई वर्गीय उपकरण होइन, तटस्थ संरचना ठान्ने प्रवृत्तिले संघर्षको धार मन्द पारेको हुन्छ यति मात्र होइन ।

अझ गम्भीर कुरा के हो भने, विचार अब मार्गदर्शक होइन, औपचारिकता बन्न पुगेको देखिन्छ । ऐतिहासिक सिद्धान्तहरू स्मरण गरिन्छन्, तर व्यवहारमा लागू गरिँदैनन् । यसले गर्दा कार्यकर्तामा भ्रम, निराशा र मौन स्वीकृति जन्माएको हुन्छं यो मौनता नै प्रतिक्रान्तिको सबैभन्दा सुरक्षित आश्रय लिने ठाउँ हो । तर इतिहासले देखाएको छ धुवाँ जति बाक्लो भए पनि आगो निभिएको हुँदैन । यदि यो धारले आत्मालोचना गर्ने साहस गर्छ, वर्गीय दृष्टिकोण पुनः स्थापित गर्छ र जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्छ भने रूपान्तरण सम्भव छ । अन्यथा, रातो झण्डा केवल विगतको सम्झना बन्ने खतरा सधैं रहिरह छ होला नि ।

नेपालको कम्युनिष्ट आन्दोलन लामो संघर्ष, त्याग र वैचारिक बहसको उपज हो । सामन्तवाद, निरंकुशता दलाल सांसदवाद र साम्राज्यवादविरुद्ध जनताको पक्षमा उभिएको यो आन्दोलनले ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि यसभित्र समय–समयमा प्रतिक्रान्तिकारी धाराहरू देखापरेका छन् । यी धाराहरूले आन्दोलनको मूल क्रान्तिकारी उद्देश्यबाट विचलन गराउँदै वर्गसंघर्षलाई कमजोर बनाएको स्पष्ट देखिन्छ ।

प्रतिक्रान्तिकारी धारा मुख्यतः अवसरवाद, सुधारवाद र सत्ताकेन्द्रित सोचका रूपमा प्रकट भएको पाइन्छ । जनताको क्रान्तिकारी चेतनालाई संस्थागत परिवर्तनमा सीमित गर्नु, संसदीय सत्तालाई अन्तिम लक्ष्य ठान्नु र वर्गीय हितभन्दा व्यक्तिगत वा गुटीय स्वार्थलाई प्राथमिकता दिनु यसको प्रमुख लक्षण हुन् । यस्तो प्रवृत्तिले पार्टीभित्र वैचारिक स्पष्टता कमजोर पार्दै जनआन्दोलनलाई निष्क्रिय बनाएको हुन्छ यो आज नेपाली कम्युनिष्ट पार्टीमा देखिन्छ ।

 निष्कर्ष ः

नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः सशक्त र जनमुखी बनाउन प्रतिक्रान्तिकारी धारासँग सैद्धान्तिक वैचारिक राजनीतिक तथा व्यावहारिक रूपमा संघर्ष गर्नु पर्ने आज अपरिहार्य भएको छ किनभने माक्र्सवाद–लेनिनवाद माओवादको क्रान्तिकारी आत्मालाई आत्मसात गर्दै जनताको वास्तविक आवश्यकता र वर्गीय मुक्तिलाई केन्द्रमा राख्न सके मात्र आन्दोलनले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्छ । अन्यथा, प्रतिक्रान्तिकारी प्रवृत्तिले आन्दोलनलाई उद्देश्यहीन र दिशाहीन बनाउने खतरा देखिन्छ । यो विषयमा नेपालका सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले निकै ठुलो वैचारिक राजनीतिक सिद्धान्तमा बहस गरेर नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्ने जरुरी भएको छ । यसको सही समाधान भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था नै हो ।

प्रतिक्रियाहरु

[anycomment]