एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ गतेदेखि

२०८२ माघ २९ गते, बुधबार


काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले त्यस दिनदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ। जसमध्ये प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र ९४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावितका लागि निष्काशन गरेको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयरमा उच्च प्रभावित क्षेत्र – ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयरमा मध्यम प्रभावित क्षेत्र – सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् भने २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयरमा न्यून प्रभावित क्षेत्र – रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि र स्थानीय बासिन्दाहरूले बढीमा ४७ हजार कित्ताका लागि तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बढीमा ९४ हजार कित्ताका लागि दिन सक्नेछन्। आयोजना प्रभावितका लागि खुला गरिएको आईपीओ छिटोमा फागुन १५ र ढिलोमा चैत १० गते बन्द हुनेछ भने वैदेशिक रोजगारेका लागि खुला गरिएको आईपीओ छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बन्द हुनेछ।आयोजना प्रभावितले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा), सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]