एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न : आजदेखि जिल्ला-जिल्लामा लगिँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भएको र आजदेखि जिल्लामा पठाइने भएको छ। प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेछ। भोलिसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्रले जनाएकोे छ । आजदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। बिहबारदेखि दुर्गम क्षेत्रमा मतपत्र पठाउन शुुरु गरिने भएको हो। फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पु¥याइसक्ने तयारी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
यस्तै निर्वाचन आयोगले भोलिदेखि मतदाता शिक्षा कार्यक्रमलाई तिव्रता दिने भएको छ । नागरिक शिक्षा प्रवर्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो। मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ । आयोगका सहप्रवक्ता जिसीले ती सामग्रीका आधारमा सरकारी र नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवद्र्धन गर्न सक्नेछन् । मतदाता शिक्षा प्रदान गर्न देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिँदैछ । त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउनेछन् ।
