दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन र उनलाई पक्राउ गर्नुको स्पष्ट कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो।
प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्। रिटमा प्रसाईंलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको जिकिर गरिएको छ।
यसअघि माघ २३ गते पनि प्रसाईं पक्राउ परेका थिए। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको थियो। बयानपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो।
त्यसअघि माघ ५ गते पोखराबाट पनि उनलाई नियन्त्रणमा लिइएको थियो। सो अवसरमा समेत बयान लिएर प्रहरीले छाडेको थियो। प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ।
