दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु !

२०८३ श्रावण २४ गते, आईतवार


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिब ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको बताएका छन् । आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
एसएसपी काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउदै सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए । उनले सडक अनुशासन उल्लङ्घनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसँग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताए ।
एसएसपी काफ्लेले मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको भन्दै सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको बताए । उनले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने भन्दै सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने बताए ।
एसएसपी काफ्लेले नेपालमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा नेपालको कुनै विद्यालय तथा विश्वविद्यालयमा पढाई नहुने भन्दै ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले सामाजिक सञ्जालमार्फत हरेक साता करिब २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्‍याउने र प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको बताए ।
एसएसपी काफ्लेले ट्राफिक नियम उल्लङ्घनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि प्रभावकारी परिणाम दिएको दाबी गर्दै कक्षामा सहभागी अधिकांशले ट्राफिक नियमसम्बन्धी शिक्षा चालक अनुमति पत्र लिने समयमै पाएमा अझ प्रभावकारी हुने बताए । उनले भने- ‘सडक प्रयोगकर्ताले सडक अनुशासन पालना नगर्दिएका कारण निर्दोष व्यक्तिहरूको जीवन चाहिँ गइरहेको छ । मादक पदार्थ सेवन गरेर सडकमा आइदिने, लागु पदार्थ सेवन गरेर सडकमा आइदिने, तीव्र गतिमा सवारी साधनहरू सडकमा प्रयोग गर्ने, जसको कारणले अरू जसले सडक नियम पालना गरिरहनुभएको थियो उहाँहरूको जीवन चाहिँ धरापमा अथवा क्षति हुने अवस्था जुन छ यो अवस्थालाई न्यूनीकरण गर्नको लागि अब ट्राफिकले सिटी फुकेर मात्र यो सम्भव हुँदैन । हामी फेसलेस ट्राफिकको कन्सेप्टमा जानुपर्छ ।’
एसएसपी काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पारे । उनले ट्राफिक प्रहरीलाई कारबाही गर्दा नागरिकसँग रुखो व्यवहार नगर्न निर्देशन दिदै ट्राफिक प्रहरीले कानुन कार्यान्वयन गराउँदा नम्र भाषा प्रयोग गर्नुपर्ने, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र कारबाही प्रक्रिया पारदर्शी बनाउनुपर्ने बताए ।
एसएसपी काफ्लेले ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार भएको बताए । उनले यसलाई सुधार गर्न निर्देशन दिदै सडक दुर्घटनामा कमी आए पनि हालको अवस्था सन्तोषजनक नरहेको बताए ।
एसएसपी काफ्लेले गत वर्षको तुलनामा सडक दुर्घटनामा करिब २० प्रतिशत कमी आएको भए पनि त्यसलाई पर्याप्त मान्न नसकिने भन्दै आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु