लोडसेडिङको बेला पनि बिजुली !
काठमाडौं, २२ कात्तिक। नेपाल विद्युत्त प्राधिकरणले हिजोआज लोडसेडिङको बेलामा पनि बिजुली दिन थालेको छ ।केही दिन भयो, काठमाडौंमा लोडसेडिङको बेला पनि बिजुली आउँछ । लाइन गैहाल्यो भनेर स्वीच बन्द गरेर बसेकाहरुलाई कुनबेला बत्ती आइसक्यो पत्तो हुँदैन । केहीबेर बत्ती जान्छ र उतिखेरै आइहाल्छ । यस्तो कसरी संभव भयो त ?
‘चिसो सुरु भैनसकेकाले अहिले खपत पनि धेरै छैन, त्यसैले लोडसेडिङको बेला पनि बिजुली दिन संभव भएको हो’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर अब चिसो बढ्न थालेकाले माग बढ्छ, सँगसँगै लोडसेडिङ पनि थपिनेछ ।’
हप्तामा ५७ घण्टा लोडसेडिङ हुँदै आएकोमा अहिले विद्युत धेरै खपत नहुने भएकाले देशैभर दैनिक १ सय मेगावाटको हाराहारीमा मात्रै विद्युत कटौती भैरहेको प्राधिकरणले जनाएको छ । यसअघि माग बढी भएको र उत्पादन कम भएको समयमा दैनिक ३ सयदेखि ४ सय मेगावाट विद्युत कटौती हुँदै आएको थियो ।अहिले कुलेखानी जलविद्युत आयोजनाबाट पनि साँझको समयमा ९० देखि ९२ मेगावाट विजुली उत्पादन गरेर खपत गरिरहेको प्राधिकरणले जनाएको छ ।