अलैंचीको मूल्य आकासियो
काठमाडौं । ताप्लेजुङका किसानहरुले यो वर्ष अलैंचीको राम्रो मूल्य पाएका छन् । बेच्ने समयमै अलैंचीको मूल्य प्रतिमन ८५ हजार पुगेको छ । यो अहिलेसम्मकै उच्चमूल्य हो ।गत वर्ष किसानले अलैंचीको मूल्य प्रतिमन ५५ हजार रुपैयाँ पाएका थिए । व्यापारीलाई बेचेपछि भने त्यो बढेर ७५ हजार रुपैयाँ पुगेको थियो ।
पूर्वी–पहाडी जिल्लामा अलैंचीको व्यावसायिक खेती हुँदै आएको छ । नेपालमा १३ हजार हेक्टर जमिनमा लगाइएको खेतीबाट वार्षिक १३ हजार मेट्रिकटन अलैंची उत्पादन हुने गर्दछ ।
उता, खोटाङका दक्षिणी भेगमा भने यो वर्ष अलैंची उत्पादन तेब्बरले घटेको छ । सावाखोलापारिका डम्वर्खु शिवालय, चिसापानी, बोपुङ, लिकुवापोखरी, दिप्लुङ र काउले गरी ६ ओटा गाविसमा अलैंची उत्पादन घटेको हो ।गानोमा छिद्रा बस्ने गुभा कुहिएर पातहरु पहेलिँदै जाने र झ्याङ नै सखाप हुने, फूल फूलेर फल नलाग्ने रोगका कारण यो वर्ष करिब एक करोड बराबरको क्षति ब्यहोर्नुपरेको कृषकहरुको भनाइ छ ।
कृषकहरुले खेतीयोग्य जमिन मासेर अलैंचीखेती गदै आएका थिए । तर, अलैंचीमा आएको रोगका कारण किसानहरु समस्यामा परेका छन् ।