बाबुरामलाई सम्वाद समितिबाट हटाउन चलखेल

२०७१ मंसिर २ गते, मंगलवार


काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईविरुद्ध समितिमा रहेका बहुमत अर्थात ४३ सभासदले हस्ताक्षर संकलन गरेका छन् ।प्रधानमन्त्री सुशील कोइरालाकै रोहवरमा गरिएको हस्ताक्षर अभियानमा एमाले र कांग्रेसका ३४ सभासदको संलग्नता छ । अन्य दलका सातजना र दुई स्वतन्त्र सभासदसमेत गरी ४३ सदस्यले हस्ताक्षर गरेका छन् । सम्वाद समितिमा कुल ७१ सदस्य छन् ।
बाबुरामविरुद्ध बहुमत सदस्यले हस्ताक्षर गरेपछि सम्वाद समिति नयाँ संकटमा फसेको छ । सोमबारको बैठक यही हस्ताक्षर काण्डकै कारण भट्टराईले स्थगन गरेका छन् । अर्को बैठक कुन दिन बस्ने, टुंगो छैन । हस्ताक्षर अभियानका कारण सरकार र प्रतिपक्षको दूरी झन् बढेको छ ।
हस्ताक्षर अभियानको अर्थ
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापतिविरुद्ध हस्ताक्षर संकलन गर्नुका पछाडि दुईवटा कारण रहेका छन् । एक त बहुमतले भनेको सभापतिले मान्नुपर्ने हुन्छ, दोस्रो त्यसो नगरेको अवस्थामा डा. भट्टराईलाई समितिले सभापतिबाट हटाउन पनि सक्छ । तेस्रो, बहुमत सदस्यले हस्ताक्षर गरेपछि भट्टराईलाई राजीनामाको चर्को दबावसमेत पर्न सक्छ । यद्यपि संविधानसभा नियमावलीमा सभापतिलाई हटाउने स्पष्ट प्रावधान उल्लेख छैन ।
एमाओवादी अध्यक्ष प्रचण्डले बाबुरामलाई सम्वाद समितिबाट हटाएर देखाउन सत्ता पक्षलाई चुनौती दिएपछि कांग्रेस र एमालेले उनीविरुद्ध हस्ताक्षर संकलन गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]