सार्क सम्मेलनको सम्पूर्ण तयारी पूरा

२०७१ मंसिर ६ गते, शनिबार


काठमाडौँ, ५ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा हुनाका साथै सम्मेलनका प्रक्रियागत बैठक शनिबारदेखि यहाँ हुँदैछ ।
भौतिक पूर्वाधार निर्माण तथा सारभूत विषयसहित सम्पूर्ण तयारी पनि पूरा भएको छ । भौतिक पूर्वाधारका छिटपुट काम आजै सम्पन्न हुने जानकारी सम्बन्धित निकायका पदाधिकारीले सरकारलाई गराइसकेका छन् । सदस्य मुलुकका परराष्ट्र÷विदेश ÷बाह्य मामिला मन्त्रालयमा सार्क मामिला हेर्ने सहसचिव सम्मिलित कार्यक्रम समितिको शनिबारको बैठकमा शिखर सम्मेलनमा सदस्य देशले समावेश गर्ने विषय, काठमाडौँ घोषणापत्रबारे बुँदागत छलफल तथा त्यसमा आवश्यक परिमार्जन एवम् पुनर्लेखन हुनेछ । परिष्कृत विषयवस्तु तथा समितिले निरुपण गर्न नसकेका विषय सचिवहरू सम्मिलित स्थायी समिति समक्ष प्रस्तुत गर्नेछ ।
आइतबार र सोमबार आठ वटै मुलुकका परराष्ट्र÷विदेश ÷बाह्य मामिला सचिवको नेतृत्वमा हुने स्थायी समितिको बैठकले कार्यक्रम समितिले प्रस्तुत गरेका दस्तावेजमा आवश्यकतानुसार सुधार गरी नीतिगत विषयसमेत समेटेर राजनीतिक तहमा निर्णय गर्नुपर्ने विषयलाई सार्क मन्त्रिपरिषद्मा पेस गर्नेछ ।
मङ्गबार हुने मन्त्रिपरिषद् बैठकले काठमाडौँ घोषणापत्रलाईं अन्तिम रुप दिनाका साथै क्षेत्रीय सम्झौताका विषयलाई निष्कर्षमा पु¥याउनेछ । मन्त्रिपरिषद्ले किनारा लगाउन नसकेका विषय सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको बैठक शिखर सम्मेलनमा प्रस्तुत हुनेछ ।
सार्क बडापत्र संशोधन, हाल पर्यवेक्षकका रुपमा रहेको चीनलाई सदस्यता वितरण, शान्तिका प्रतीक सात परेवाअङ्कित सार्कको प्रतीक चिह्नमा अर्को एउटा परेवा थप, सार्क सचिवालयलाई अझ सशक्त एवम् प्रभावकारी तुल्याउने, शिखर सम्मेलन अब उप्रान्त हरेक दुई वर्षमा आयोजना गर्नेलगायत विषयको छिनोफानो शिखर सम्मेलनले गर्नेछ । यी र यस्ता विषयमा आठ वटै सदस्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको सर्वसम्मतिमा मात्र गर्न सकिने प्रावधान सार्क बडापत्रमा छ ।
अठारौंँ शिखर सम्मेलनमा १७ औैँ शिखर बैठकपछि भएका सार्कसँग सम्बन्धित बैठकका प्रतिवेदनको समीक्षाका साथै सार्क वित्त, गरिबी निवारण, कृषि तथा ग्रामीण विकास, सामाजिक विकास, स्वास्थ्य र जनसङ्ख्यालगायत सार्कअन्तर्गत स्वीकृत सहयोगका क्षेत्रबारेमा पनि गहन विचारविमर्श हुनेछ ।
बुधबार र बिहीबार हुने शिखर बैठकमा सार्कका नौ पर्यवेक्षक राष्ट्र÷क्षेत्रीय सङ्गठनका प्रतिनिधि सहभागी हुनेछन् । पर्यवेक्षकका तर्फबाट पनि शिखर बैठकमा सम्बोधन हुनेछ । सार्कको संस्थापक मुलुकका नाताले स्थापनाकालदेखि नै त्यसमा सक्रिय रहेको नेपालले यसअघि तेस्रो(सन् १९८७) र एघाराँैं(२००२)शिखर सम्मेलन आयोजना गरिसकेको छ ।
शिखर सम्मेलनमा भाग लिन आउने सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री सुशील कोइरालाले बुधबार रात्रिभोजको आयोजना गर्नुहुनेछ भने बिहीबार राष्ट्रपति डा रामवरण यादवसँग उहाँहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा सामूहिक रुपमा शिष्टाचार भेट गर्नुहुनेछ । सोही दिन साँझ शीतल निवासमा राष्ट्रपति डा यादवले राष्ट्राध्यक्ष वा सरकार प्रमुखको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
बुधबार शिखर सम्मेलनको उद्घाटनसत्र समाप्त गरेर दिवाभोजपछि प्रधानमन्त्री कोइरालाले राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । अन्य सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखबीच पनि सोही दिन दिउँसो द्विपक्षीय भेटवार्ता हुनेछ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार खुला र अनौपचारिक वातावरणमा राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई आपसी हित र चासोका विषयमा खुलेर संवाद गर्न धुलिखेलमा विश्राम(रिट्रिट) र आमोदप्रमोदका निम्ति व्यवस्था गरिएको छ । बिहीबार बिहान उहाँहरूलाई विश्रामका निम्ति धुलिखेल लगिने छ । सार्कमा द्विपक्षीय विषय उठाउन नपाइने व्यवस्था भएकाले विश्राम को प्रबन्ध गरिएको हो । सदस्य मुलुकबीच आपसी सद्भाव वृद्धि गर्न रिट्रिटको प्रबन्ध गरिएको मन्त्री पाण्डे बताउनुहुन्छ । प्रतिकूल मौसम एवम् परिस्थिति सिर्जना भई धुलिखेल जान नसक्ने अवस्था आएमा रिट्रिटको वैकल्पिक व्यवस्था काठमाडौंँमा नै मिलाइएको पनि उहाँ बताउहुन्छ ।
बिहीबार अपराह्न काठमाडौँ घोषणापत्र जारी गरेर सम्पन्न हुने शिखर सम्मेलनबारे प्रधानमन्त्री कोइरालाले सञ्चारमाध्यमलाई जानकारी दिने कार्यक्रम निर्धारण भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय परराष्ट्रमन्त्री पाण्डेले, स्थायी समिति बैठकको जानकारी कामु परराष्ट्र सचिव शङ्कदास वैरागीले र कार्यक्रम समितिका गतिविधिबारे परराष्ट्र मन्त्रालय, सार्क महाशाखा प्रमुख यज्ञबहादुर हमालले सूचना केन्द्रमार्फत जानकारी दिने व्यवस्था मिलाइएको छ ।
पञ्चायत कालमा पहिलो पटक , राजा र जनतामा नेपालको सार्वभौमिकता रहेको प्रजातन्त्रकालमा दोस्रो र सम्पूर्ण रुपले मुलुकको सार्वभौमिकता नेपाली जनतामा निहित रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा तेस्रो पटक हुन लागेको सार्कको शिखर सम्मेलन नेपाल र नेपालीको प्रतिष्ठासँग गाँसिएकाले १८ औंँ शिखर बैठकलाई सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्नु सम्पूर्ण राष्ट्रवासीको कर्तव्य हो ।
अठारौं सार्क शिखर सम्मेलनको सफल आयोजनाबाट सार्क प्रक्रिया प्रभावकारी रुपमा अघि बढ्ने, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा वृद्धि हुने तथा शिखर सम्मेलनका क्रममा सदस्य देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखबीच हुने विचारको आदानप्रदानबाट सार्क मुलुकबीच द्विपक्षीय तथा क्षेत्रीय सहयोग अभिवृद्धि भई क्षेत्रीय शान्ति र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
संविधान निर्माणको क्रममा रहेको नेपाललाई सार्कका शिखर व्यक्तित्वबाट प्राप्त हुने सुझाव अति उपयोगी हुनेछन् भने संविधान निर्माणसँगै राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा डो¥याउन तथा त्यस निम्ति वैदेशिक लगानी जुटाउन सार्क सम्मेलन अवसर पनि हो । विकासका चुनौतीलाई चिर्दै समुन्नत नेपाल निर्माण गर्न र अन्तर्राष्ट्रिय समुदायमाझ नेपाल राजनीतिक स्थायित्व एवम् शान्तिपूर्ण मुलुकका रुपमा स्थापित भएको सन्देश प्रवाह गर्न सार्क शिखर सम्मेलनको सफलता अझ महत्वपूर्ण भएको छ । विश्व समुदायका आँखा काठमाडाँैंमा केन्द्रित भएका बेला नेपालले यो अवसर गुमाउनु हुँदैन । शरच्चन्द्र भण्डारी, रासस

प्रतिक्रियाहरु

[anycomment]