दार्चुलामा भारी हिमपात
काठमाडौं ।माथिल्लो दार्चुलाका आधा दर्जन गाविसमा हिमपात हुन थालेपछि स्थानीयवासी बेसी झर्न थालेका छन् । व्यास, छाङरु घुसा, खण्डेश्वरी, राप्ला, सिप्टीलगायतका माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा बिहीबारदेखि परेको भारी हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर बनेको छ ।जिल्लाको उत्तरी तथा उच्च पहाडी गाविसका विभिन्न बस्तीमा हिमपात हुने र जनजीवन कष्टकर हुने हुँदा केही स्थानीय हिमपात सुरु हुनुपहिले नै बेसीतिर झरिसकेका छन् ।
मंसिरदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलु खेती गर्छन् । जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्नु पर्ने हुन्छ ।
समुद्री सतहदेखि ३ हजार ८ सय ५० देखि ५ हजार ४ सय मिटर उचाइको दार्चुलामा पर्ने अपी हिमालमा तीन फिटसम्म हिउँ पर्छ । – रासस