७० लाख युवा विदेशमा

२०७१ पुष ९ गते, बुधबार

काठमडौँ । राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ मंगलबार सार्वजनिक गरिएको छ । विवरणले नेपालका ७० लाख युवा विदेशमा रहेको तथांक सार्वजनिक गरेको छ ।आयोगका सदस्य भातेन्द्र मिश्रले सरकारी तथ्याङ्कअनुसार करिब ७० लाख युवा विदेशमा रहेको बताए । उनले विभागको पछिल्लो जनगणनामा १९ लाख मात्रै बाहिर रहेको भन्ने तथ्याङ्क गलत भएको टिप्पणी गरे ।
युवा विदेशिएकाले जनसङ्ख्याको दरमा परेको नकारात्मक प्रभावलाई कम गर्न पनि स्वदेशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
केन्द्रीय तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा यज्ञबहादुर कार्कीले जनसङ्ख्या विस्तृत विवरण नेपाल र जनसङ्ख्या सूचना सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०६८ का विभिन्न तह र क्षेत्रका अन्तिम नतिजाको आधारमा तयार पारिएको सो प्रतिवेदनले विकास निर्माण प्रक्रियालाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
पछिल्लो जनगणनाअनुसार विगत छ दशकमा सबैभन्दा कम अर्थात १.३५ प्रतिशत मात्रै जनसङ्ख्या वृद्धिदर भएको र यही जनसङ्ख्या कायम रहे नेपालको जनसङ्ख्या दोब्बर हुन ५१ वर्ष लाग्ने देखिन्छ ।
विसं २०६८ को जनगणनाअनुसार नेपालको जन्मदर इतिहासमै कम पाइएको छ । विगत एक दशकमा प्रतिहजार जनसङ्ख्यामा २२ बच्चा हरेक वर्ष थपिएको र प्रतिहजार जनसङ्ख्यामा सात जनाको मात्रै मृत्यु भएको देखिन्छ ।
विभागकाअनुसार प्रति महिला हाल २.५२ जना बच्चा जन्मिएको देखिन्छ । यो जन्मदर ग्रामीण र सहरी क्षेत्रमा भिन्नभिन्न देखिन्छ । सहरी क्षेत्रमा एउटी महिलाले औसतमा दुई वटाभन्दा कम सन्तान जन्माएको देखिन्छ भने ग्रामीण क्षेत्रमा करिब तीन बच्चा जन्माएको देखिन्छ । विवाह गर्ने औसत उमेरमा वृद्धि भएको, धेरै युवा विदेशिएका कारण जन्मदरमा कमी आएको विभागको भनाइ छ ।
नेपालीको औसत आयु ६७ वर्ष पुगेको छ भने भक्तपुर, ललितपुर, कास्की, काठमाडौँ र चितवनमा जन्मेका बच्चाको आयु धेरै र मध्यपश्चिमका पहाड र मध्य तराईमा औसत आयु कम रहेको पाइएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य विमला पौडेल राई, भारतेन्द्र मिश्र, डा यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले विकास निर्माण, भौतिक पूर्वाधारको विकास, शिक्षा स्वास्थ्यलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई मोनोग्राफले सहयोग गर्ने धारणा राख्दै आगामी दिनमा सहज योजना बनाउनसमेत प्रतिवेदन सहायक हुने बताए ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपाल प्रतिनिधि जुलिया भालिसीले नेपालको विकासका लागि महत्वपूर्ण मानिएको मानोग्राफ तयार पार्न सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको जानकारी गराउँदै राष्ट्रसङ्घीय तथ्याङ्क महाशाखाबाट स्वीकृत र विश्वव्यापी रुपमा प्रयोग हुँदै आएको प्रणालीलाई अवलम्बन गरिएकाले तथ्याङ्क उल्लेखनीय रहेको बताए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु