हात्ती महोत्सव पुष ११ देखि
काठमडौँ । अंग्रेजी नयाँ वर्ष एवं क्रिसमसको अवसर पारेर आयोजना गरिने चितवन हात्ती महोत्सव २०७१ मा पर्यटकहरुलाई विशेष छुट योजना ल्याईएको छ । फरक शैलीका हात्तीको पिकनिकसमेत आयोजन गर्न लागिएको हात्ती महोत्सवमा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई लक्षित गरि सौराहा बसाईमा आकर्षित गर्न विशेष छुट योजना ल्याईएको हो । सौराहा आउने जो–कोही पर्यटकले यहाँका सबै होटल तथा रेष्टुराँमा विशेष योजनासहित घुम्न पाउनेछन् । चितवनको समग्र पर्यटनको विकास गर्ने उद्देश्यले सौराहामा आयोजना हुन लागेको चितवन हात्ती महोसत्व र अंग्रेजी वर्र्षसँगै पर्ने क्रिसमसलाई ध्यानमा राखेर क्षेत्रीय होटल संघ सौराहाले यो योजना ल्याएको जनाएको छ ।
चितवन आउने हरेक किसिमका पर्यटकहरुले यो अवधिमा यस क्षेत्रका प्रत्येक होटलमा बास बस्दा कोठामा ३० प्रतिशत छुट दिने योजना अघि ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिए । पहिलो पटक हात्ती संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन हात्ती पिकनिक आयोजना गरेको बताउँदै १ सय बढी हात्तीले पिकनिकमा हात्तीलाई मन पर्ने परिकारहरु खुवाउने बताए । यस्तै रेस्टुरेन्टको बिलमा २० प्रतिशत छुट गरिएको रेवान सौराहाका अध्यक्ष सिताराम कुमालले जानकारी दिए । यसअघि होटलमा २५ र रेष्टुराँमा १५ दिँदै आएकोमा पर्यटकहरुलाई थप आकर्षित गर्न ५ प्रतिशत बढी छुट गरिएको संघका अध्यक्ष विष्टले प्रष्ट पारे ।
सौराहाको होटल रेनफरेष्टका सञ्चालक समेत रहेका अध्यक्ष विष्टले ‘क्रिसमसको समयमा बाह्य पर्यटकको आवागमनमा कमी आउने र सौराहाले हात्ती महोत्सव यही बेला पर्ने भएकाले पनि आन्तरिक पर्यटकलाई लक्ष्य गर्न यो योजना ल्याएको बताए । ‘यो अवधिभर सस्तोमा खाना र कोठा उपलब्ध हुनेछ,’ उनले सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि विभिन्न प्याकेज योजना ल्याएको जानकारी दिए ।
मुुलुककै तेश्रो पर्यटकीय गन्तव्य सौराहामा ११ देखि १३ पुससम्म चितवन हात्ती महोत्सवको ११ औं संस्करण हुँदैछ ।
सोचेभन्दा धेरै राम्रो हुने दाबी होटल संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक सुमन घिमिरेले भने– महोत्सवमा २० टिम दौडको उपाधिका लागि भिड्नेछन् ।
त्यस्तै, ४ वर्ष अघिदेखि थप गरिएको हात्ती ब्युटी कन्टेस्टका लागि ५७ हात्ती र छावाको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ टिमबीच खेल हुने पनि उनले बताए । टाँगा, गाडा दौड प्रतियोगितासहित हात्ती दिनचर्याबारे जानकारी र स्थानीय आदिवासी जनजातिको कलासंस्कृति एकसाथ हेर्न पाउनु यो समयमा घुम्न आउने पर्यटकलाई विशेष अवसर भएको उनका भनाइ छ ।
क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष अञ्जनकुमार पाण्डेले प्रत्येक मौसमलाई लक्ष्य गरेर सौराहामा बाहैर महिना घुम्न सकिने गन्तव्यका रुपमा स्थापित गराउन यस्ता विशेष छुटको योजनाले थप सहयोग मिल्ने दावी गरे । उनले यो योजना १० देखि १६ पुससम्म रहने जानकारी दिए ।
योजनाअन्तर्गत एकजनाले क्रमशः एक रात, दुई रात र तीन रातको प्याकेजमा सौराहा घुम्न पाउनेछन् भने प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्टसहित सम्पूर्ण सफारी गर्न पाउनेछन् ।
पर्यटकले सौराहामा हात्ती सफारी, डुंगा सयर, हात्ती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् । हात्ती महोत्सव भरि यो योजनामा सहभागी हुने पर्यटकलाई निःशुल्क हात्ती महोत्सव अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।