काभ्रेमा मेट्रोलोजिकल स्टेसन स्थापना

२०७१ पुष १६ गते, बुधबार

काठमाडौँ । काभ्रेपलाञ्चोकको तीनवटा गाविसमा कृषकको खेतीपातीमा तापक्रम मापन गर्न तीनवटा ‘मेट्रोलोजिकल स्टेसन’ खडा गरिएको छ । कृषकका लागि अधिकतम तथा न्यूनतम तापक्रम, वर्षा र सापेक्षिक आद्रताको मापन गरी जानकारी लिन तीन दिनको अवधिमा सो स्टेसन खडा गरिएको वातावरण मैत्री फूर्तिलो गाउँ परियोजनाका काभ्रेपलाञ्चोक जिल्ला संयोजक अर्जुन खनालले जानकारी दिए ।
यसबाट विद्यार्थीले समेत भरपुर लाभ पाउन सकून् भनेर पात्लेखेत गाविसको हनुमान उच्च माध्यमिक विद्यालय, महादेवस्थान गाविसको डेडीथुम्का उच्च माध्यमिक विद्यालय र नयाँ गाउँ गाविसको महाकाली उच्च माविमा सो स्टेसन खडा गरिएको उनले बताए ।
स्टेसनबाट मापन भएको तापक्रम सम्बन्धित स्थानको सूचना पाटीमा हुनेछ र त्यसबाट नै कृषकले जानकारी पाउने संयोजक खनालको भनाइ छ ।
करिब दुई लाखको लागतमा निर्माण हुने लक्ष्य भएको सो स्टेसनमा थर्मोमिटर, रेनगेज, हाइग्रोमिटर, स्टायण्डलगायतका उपकरण प्रयोगमा ल्याउन सम्बन्धित विद्यालयका विज्ञान शिक्षकलाई जिम्मेवारी दिइएको छ ।
‘हाम्रो उद्देश्य विद्यार्थीले यसबाट विज्ञानसम्बन्धी जानकारी पाउन भन्ने हो ।’ परियोजनाका जिल्ला संयोजक खनालले भने । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र र इसिमोडको आर्थिक सहयोगमा परियोजनाले कृषकलाई सूचना, सञ्चारको प्रविधिबाट बजारभाउदेखि मौसमको अवस्थाबारे समेत जानकारी गराउने संयन्त्रको विकास गर्ने लक्ष्यअनुसार सो स्टेसन निर्माण गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]