सभासदभन्दा मर्यादापालक धेरै
काठमाडौ, ११ माघ । संविधानसभाका सभाध्यक्ष सुवास नेम्बाङलाई प्रश्नावली समिति गठनको प्रस्ताव राख्न नदिने विपक्षीहरुले बताएपछि संविधानसभामा आजका लागि सुरक्षा व्यवस्था झनै कडा पारिएको छ।सभाध्यक्ष नेम्बाङले आइतबारको बैठकमा ल्याउने समितिको ठाडो प्रस्ताव रोक्ने धारणा एमाओवादी गठबन्धनले सार्वजनिक गरेको छ। सम्भावित द्वन्द्वका कारण मर्यादापालक थप्दै संविधानसभा परिसरको सुरक्षा व्यवस्था झनै कडा पारिएको हो।एमाओवादी गठबन्धनले समिति गठन प्रक्रिया अघि बढ्न नदिने बताएपछि विशेष सुरक्षा तैनाथ हुने भएको छ। गत सोमबार मध्यरातमा बसेको संविधानसभामा एमाओवादीसहित विपक्षी गठबन्धनले बैठक सकिएपछि गरेको तोडफोडलाई ध्यानमा राखेर मंगलबारदेखि विशेष सुरक्षा व्यवस्था गरिँदै आएको छ।
संविधानसभा भवनमा मर्यादापालकको संख्या ६ सय ५० पुर्याइएको छ। जनपद प्रहरी र सशस्त्र प्रहरी पनि थप गरिएको छ। केही कमान्डोसहित संविधानसभा भवनमा दुई हजार सुरक्षाकर्मी तैनाथ गरिएको संविधानसभा सचिवालय स्रोतले बतायो।
स्रोतका अनुसार रक्षा मन्त्रालयका केही सादा पोसाकका सुरक्षाकर्मी पनि संविधानसभामा तैनाथ छन्। यसअघि नेपाल प्रहरीका उपरीक्षक (एसपी) को नेतृत्वमा सुरक्षा व्यवस्था हुने गरे पनि तनाव बढ्दै गएपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले सुरक्षा नेतृत्व समालेका छन्। डीआईजी मधु पुडासैनीको कमान्डमा मर्यादापालक परिचालित भएका छन्।
गत पुस २३ गते संविधानसभामा सेवारत ९२ जना मर्यादा पालकको संख्यामा झन्डै तीन सय प्रतिशत बढाउने निर्णय भएको थियो। तनाव बढ्दै गएपछि यो संख्या अझ बढ्दै गएको छ।
संविधानसभाको सुरक्षा व्यवस्था बढाउँदै जानेमा संविधानसभा सचिवालय र प्रहरी मुख्यालय (कार्य विभाग) बीच निरन्तर छलफल भइरहेको स्रोतले बतायो।
पुस २३ गतेको बैठकमा अप्रेसन (कार्य विभाग) प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) गणेश राईले विद्यमान परिस्थितिबारे जानकारी गराउँदै मर्यादापालकहरूलाई थप अधिकार दिनुपर्ने सुझाव सभाध्यक्ष नेम्बाङ समक्ष राखेका थिए। गत मंगलबारदेखि राईको सुझावभन्दा दसौं गुना बढी सुरक्षाकर्मी परिचालन भएका छन्।