पूर्वराजा ज्ञानेन्द्रलाई १ करोड ६० लाख कर तिर्न ताकेता

२०७१ माघ १५ गते, बिहीबार

काठमाडौं, १५ माघ ।पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगान र त्यहाँ रहेको मिनी दरबारको एकीकृत सम्पत्ति कर तिर्न दमक नगरपालिकाले आग्रह गरेको छ ।दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालसहितको टोलीले दमकमा रहेका पूर्वराजालाई बुधबार भेटेर करको विषयमा ध्यानाकर्षण गराएको हो ।
एकीकृत सम्पत्ति कर लागू भएयता यस चिया बगानले अहिलेसम्म कर तिरेको छैन । करका विषयमा चिया बगान प्रशासन र नगरपालिकाबीच पत्रमार्फत दोहोरीमात्र चल्दै आएको थियो ।यहाँका राजनीतिक दल र नगरपरिषदले समेत बगानलाई कर तिर्नका लागि बारम्बार आग्रह गर्दै आएका थिए ।
कार्यकारी अधिकृत दाहालका अनुसार प्रत्यक्ष रुपमा पूर्वराजा शाहलाई भेटेर यस विषयमा जानकारी गराउँदा उनले समस्या समाधानका लागि नगरपालिकासँग सहकार्य गरेर तत्काल प्रयास थाल्न बगानन प्रशासनलाई निर्देशन दिएका छन् ।
पूर्वराजा शाहले आफू यस देशको नागरिक भएको हैसियतले कर तिर्न तयार रहेको बताउँदै समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएको नगरपालिकाले जनाएको छ ।बगानले एकीकृत सम्पत्ति करबापत नगरलिकालाई एक करोड ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिएको दाहालले जानकारी दिए । – गोरखापत्र दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु