सहिदको सपनालाई नबिर्सौ – राजेन्द्र चिमौरिया
भर्खरै सहिद दिवस सम्पन्न भएको छ । देशलाई स्वाधीन र जनतालाई अधिकार सम्पन्न बनाउन सहिदहरूले बलिदानी गरेका थिए । राष्ट्र र जनताको मुहार फेन हजारौँ सहिदहरूले बलिदानी गरे पनि न राष्ट्र स्वाधीन हुन सकेको छ, न जनता नै अधिकार सम्पन्न भएका छन् । देशमा सामन्तवाद, देशी, विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीको जगजगी कायम नै रहेको छ । शान्ति र सुव्यवस्था नारामा मात्र सीमित भएको छ । दिनहुँ अन्याय, अत्याचार, कालोबजार र भ्रष्टाचार मौलाइरहको छ । जनजीविका दिनप्रतिदिन थप कष्टकर बन्दै गइरहेको छ । देशको शासन, सुव्यवस्था कायम गर्ने राजनीतिक दल र नेताहरू गैरजिम्मेवार बन्दै गइरहेका छन् । राजनीतिक दल र नेताहरू राष्ट्र र जनताभन्दा दल र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा दत्तचित्त छन् । राजनीतिक दल र नेताहरूको यस्तो कार्यले नेपाली जनताले विश्वसामु शिर निहुराउनु पर्ने स्थिति छ र सहिदहरूको बलिदान त्यतिकै खेर गएको स्थिति छ । तर्सथ, देश र जनताको मुहार फेर्ने प्रतिबद्धताका साथ राजनीतिमा होमिएका दल र नेताहरूले एक पटक गम्भीर भएर सोच्नुपर्ने स्थिति आएको छ । आफ्नो दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको निम्ति सोच्न जरुरी छ । राष्ट्र र जनताको नाममा आफ्नो दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित हुने दल र नेतालाई सहिदहरूले पक्कै माफ गर्ने छैनन् । सहिदहरूको बलिदानको अवमूल्यन गर्नु भनेको दल र नेताहरूले आफ्नै घुँडामा बन्चरो हान्नुसरहको घात हो । तर्सथ, सहिद दिवसको अवसरमा सबै दल र नेताहरूलाई राष्ट्र र जनताप्रति बफादार हुने सद्बुद्धि पलाओस् । सहिदको सपना साकार पार्न सबै दल र नेताहरू एकजुट होऔँ । यसमै देश, जनता, दल र नेताहरूको भविष्य सुन्दर हुनेछ । अन्यथा कसैको भलो हुनेछैन, चेतना भया ।