गोल्छाको जग्गा माओवादीको कब्जामा

काठमाडौँ । नेकपा माओवादीले गोल्छा समूहको जग्गा कब्जा गरेको छ ।नेपालगञ्ज-कोहलपुर सडक खण्डमा पर्ने जमीन गोल्छा समूहको उद्योगका नाममा रहे पनि प्लटिङ्ग गरी घडेरीमा विक्री गरिएको भन्दै माओवादी कार्यकर्ताले झण्डा गाढेर कब्जा गरेका हुन् ।मंगलबार बिहान ८ बजे माओवादीका जिल्ला सेक्रेटरी मानबहादुर रोकाय ‘शक्ति’को नेतृत्वमा गएको टोलीले टाँगेको ब्यानरमा लेखिएको छ- ‘उद्योगको नाममा दर्ता गरिएको जग्गामा उद्योग सञ्चालन गरी हजारौ मजदुरलाई रोजगारीको सिर्जना गर्नुको सट्टा जमीनलाई खण्डीकरण गरी दलाल पुँजीको विकासमा तिब्रता दिँदै गएकाले ।’
जग्गा कब्जाको घोषणापछि नेकपा माओवादी बाँकेका जिल्ला सेक्रेटरी रोकायले उद्योगको नामको जमीनमा उद्योग नै स्थापना गर्नुपर्ने भन्दै सो नगरेकाले कब्जा गरिएको बताए ।रोकायाले पार्टीको नीति युद्धकालमा कब्जामा रहेका संरचनाहरु पुनः कब्जा गर्ने रहेको बताए ।गोल्छाको जग्गामा उभिएर रोकाले भने- ‘बाँकेमा गोल्छाको हकमा जग्गा कब्जा नयाँ भए पनि एकीकृत माओवादीसहितको संलग्नतामा भूमाफियाले उद्योगको जमीन खण्डीकरण गरेकाले हामीले आजबाट आफ्नो कब्जामा लिएका हौं ।’
रोकायाले सो जमीन घडेरीका लागि खण्डीकरण गरी बिक्री गरिएकाले किन्ने सर्बसाधारणलाई केही नगर्ने बताए ।तर, विक्री हुन बाँकी रहेका घडेरी र साथमै रहेको २ विगाहा ऐलानी जमीन कब्जामा लिएको बताउँदै उनले भने- ‘गोल्छाको जग्गाका साथै युद्धकालमा कब्जा गरिएका जग्गा पनि विक्री वितरणमा रोक लगाइनुको साथै निगरानीमा राख्न सुरु गरिएको छ ।’