‘विश्वकै ठूलो’ शालिग्रामको अस्तित्व संकटमा
काठमाडौं,२३ माघ । नेपालको पर्वत, गुल्मी र स्याङ्जाको सीमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व संकटमा पर्न थालेको छ । गत वषमा कालीगन्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व संकटमा परेको हो ।५ वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगन्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत आषाढ पहिलो साता आएको बाढीले भत्काएपछि अहिले यहाँ पर्यटकहरु आउनै डराउने गरेको शिलाका पुजारी हरि पराजुलीले जानकारी दिए ।
भगवान विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वासमा दैनिक ५ सयभन्दा बढी तीर्थालुहरु आउने गरेकामा अहिले त्यो संख्या शून्यमा परिणत भएको पुजारी पराजुलीको भनाइ छ । आषाढमा भत्किएको शिला परिक्रमा मार्ग मर्मतका लागि कालीगन्डकी ‘ए’ परियोजनासँग बजेट माग गरिएको स्थानीयहरुले बताएका छन् ।
यहाँ नेपालभित्रैका पर्यटकसँगै भारत तथा अन्य देशहरुबाट समेत हिन्दूमार्गीहरु आउने गरेको शिला व्यावस्थापन समितिले जनाएको छ । शिलाको दर्शनसँगै झन्डै एक घन्टाको जलयात्रामा मनोरन्जन लिनका लागि यहाँ पर्यटकहरु बढी आउने गर्छन् ।