विवादास्पद ल्हारक्याल सभासद
काठमाडौं , २६ माघ । एकिकृत नेकपा माओवादीले विवादास्पद छविका पूर्व अर्थराज्यमन्त्री ल्हारक्याल लामालाई संविधानसभा सदस्य बनाएको छ। भारतीय राहदानी, तिब्बती शरणार्थी परिचयपत्र र छुट्टाछुट्टै नाममा नेपाली नागरिकता र राहदानी लिएको आरोप लागेका लामालाई एमाओवादीले समानुपातिकतर्फबाट सभासद बनाएको हो।निर्वाचन आयोगकी सहसचिव लीला गड्तौलाले समानुपातिक सभासद शम्भु पासवान हजारीको सदस्यता सर्वाेच्च अदालतले खारेज गरेपछि रिक्त पदमा एमाओवादीको सिफारिसमा आइतबार लामालाई निर्वाचित गरिएको जानकारी दिइन्। दलित आयोगमै बहाल रहेकै बेला समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरेको पाइएपछि सर्वाेच्च अदालतले कात्तिक ७ गते हजारीको संविधानसभा सदस्य पद खारेज गरिदिएको थियो।
कांग्रेस, एमाले हुँदै एमाओवादी आइपुगेका लामा कांग्रेस नेता खुमबहादुर खड्का स्थानीय विकास मन्त्री हुँदा गुम्बा व्यवस्थापन समितिको अध्यक्ष बनेपछि विवादमा आएका थिए। अघिल्लो संविधानसभा निर्वाचनमा उनी एमालेबाट समानुपातिक सभासद बनेका थिए।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा २०६७ चैत २८ गते उनी अर्थराज्यमन्त्रीमा नियुक्त भएका थिए। उनीमाथि विभिन्न नाममा नागरिकता लिएको, भारतीय राहदानी र तिब्बती शरणार्थी परिचयपत्र बनाएको आरोप लागेपछि उनले २०६८ वैशाख ८ मा राजीनामा दिएका थिए। उनीमाथि लागेको आरोप गम्भीर रहेको भन्दै मन्त्रिपरिषदले २०६८ वैशाख ९ गते पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। तर, उक्त आयोगले मागेको विवरण नपाइएको भन्दै सरकारलाई अपूरो प्रतिवेदन बुझाएको थियो। आयोगले छानबिनका क्रममा परराष्ट्र मन्त्रालय लगायतका सरोकारवाला निकायले सोधेको प्रश्नको जवाफ नदिएको र सहयोग नगरेको भन्दै स्पष्ट निचोड दिन सकेन।
लामाका सम्बन्धमा गठित जाँचबुझ आयोगले अनुसन्धानका क्रममा मागेको विवरण नदिएको भन्दैे तत्कालीन पराराष्ट्र सचिव मदनकुमार भट्टराईलाई २०६८ असार १० गते ५ सय रुपैयाँ जरिवाना समेत तिराएको थियो। लामा दोस्रो संविधानसभा निर्वाचन हुने बेला एमाओवादीमा प्रवेश गरेका थिए।
विभिन्न समयमा सार्वजनिक भएका तथ्यअनुसार लामाले विभिन्न पाँच नाममा नेपाल, भारत र चीनको नागरिकका हैसियतमा नागरिकता, पासपोर्ट र शरणार्थी परिचयपत्र लिएका छन्। उनको जन्मदर्तामा लाकेल शेर्पा छ भने नेपाली नागरिकतामा ल्हारक्याल लामा, नेपाली राहदानीमा मिस्टर वाङचुक रिम्पोछे, भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ र तिब्बती शरणार्थी परिचयपत्रमा लामा छिमे छिरिङ उल्लेख छ।
गृहजिल्ला सिन्धुपाल्चोकबाट २०५० माघ १८ मा लिइएको नागरिकतामा नाम ल्हारक्याल लामा छ। प्रमुख जिल्ला अधिकारी धु्रवराज वाग्लेको हस्ताक्षर रहेको ४८/६३७९८ नम्बरको नागरिकतामा लामाको जन्ममिति २०२१ मंसिर १३ गते उल्लेख छ। २०३४ तिर हेलम्बुमा गरिएको नाबालक नाम दर्ता रेकर्डमा भने उनले लाकेल शेर्पा नाम लेखाएका छन्। त्यतिबेला उनी १२ वर्षको भएको उल्लेख छ। २०६३ साउन ३० गते उनले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालयमा रेकर्ड छ।
लामाले काठमाडौं–६, बौद्धको ठेगानामा मिस्टर वाङचुक रिम्पोछेका नाममा नेपाली राहदानी लिएका छन्। उक्त राहदानीमा जन्ममिति सन् १९६७ जुलाइ २९ उल्लेख छ।
त्यसैगरी, खेम्पो छिमे छिरिङका नाममा लामाले राष्ट्रियता ‘भारतीय’ जन्मस्थान भारत कुलिगल र जन्म मिति सन् १९६५ अक्टुबर १ उल्लेख गरी सन् १९९८ जुन १२ मा गुवाहाटीबाट ‘ए’ २१२९८१२ नम्बरको भारतीय राहदानी लिएका थिए। लामाले सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नामबाट शरणार्थी परिचयपत्र लिएका थिए। गृहमन्त्रालयमा २०६२ वैशाख ६ गते राष्ट्रियता, नाम, ठेगाना र उमेर ढाँटेर नेपाल र भारतबाट राहदानी तथा तिब्बती शरणार्थी परिचयपत्र लिएको लगायत १० वटा आरोपसहित लामाविरुद्ध उजुरी परेको थियो। गृहले ०६२ जेठ १५ मै जिल्ला प्रशासन सिन्धुपाल्चोकसँग यथार्थ विवरण माग गर्दै उजुरीको मिसिलसहित परिपत्र गरेको थियो। तर, गृहको परिपत्र बेवास्ता गर्दै सिन्धुपाल्चोकले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन।- नागरिक दैनिकवाट