जनस्वयमसेवकले भ्रष्टाचार र कालोबजारीलाइ तह लगाउने

काठमाडौं। नेकपा माओवादीको युवा संगठनले देशमा बढ्दो भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र बैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्याका विरुद्ध आन्दोलन गर्ने जनाएको छ । राजधानीमा बसेको माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको केन्द्रीय समितिको बैठकले त्यस क्षेत्रमा आफ्नो आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो । माओवादीले यसअघि नै भ्रष्टाचार, कालोबजारी र दलाल प्रवृतिका विरुद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ । माउ पार्टीको त्यही आन्दोलनलाई सघाउ पुर्याउन अब सबै युवाहरुलाई परिचालन गरिने युवा संगठनका अध्यक्ष उदयबहादुर चलाउने (दिपक)ले जानकारी दिएका छन् । उनले त्यसका लागि अन्य सहकर्मी युवा संगठनहरु, सामाजिक संघ संस्था र सरोकारवाला सबैसँग सहकार्य गरी संयुक्त आन्दोलन उठान गर्ने बताएका छन् । युवा नेता चलाउनेले भ्रष्टाचार र कालोबजारी अहिले राष्ट्रकै विकराल समस्याका रुपमा बढिरहेको र त्यसतर्फ राज्यका कुनै पनि निकायले ध्यान नदिएको बताए । राजनीतिक दलका नेता र राज्य संयन्त्रमा बस्ने ठूला कर्मचारीहरुको समेत त्यसमा सम्लग्नता देखिएकाले यसलाई समाधान गर्न जनताले नै कडा आन्दोलन नै गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । त्यो आन्दोलनको नेतृत्व नेकपा माओवादीले गर्ने उनले बताए ।
यसैबीच जनस्वयमसेवकले आगामी चैत्र २४, २५ र २६ गते संगठनको राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि उदयबहादुर चलाउने संयोजक र सावित्राकुमारी दुरा सहसंयोजक चयन गरिएको छ ।