कोइराला–प्रचण्ड भेटवार्ता
काठमाडौ, २ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।करिब एक घण्टासम्म भएको वार्ताालार्इ दुबै नेताले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।प्रधानमन्त्रीसँगको भेटवार्तापछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले आजको वार्ता सकारात्मक भएकाले चाँडै अर्को संवादमा जुट्ने सहमति भएको जानकारी दिए ।
भेटवार्ताका क्रममा अहिलेको राजनीतिक गतिरोध तोड्नका लागि प्रधानमन्त्रीको वक्तव्यदेखि संविधनसभा स्थगितसम्म आइपुग्दा केही सकारात्मक कदम भएको जनाउँदै प्रचण्डले वार्ताको वातावरण बनाउन प्रमलाई आग्रह गरेका थिए ।
‘अझै पनि पूर्णरुपमा वार्ताको वातावरण बनिसकेको छैन । तपाईंले विशेष पहल गरिनुपर्यो’, प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उधृत गर्दै उनका स्वीकय सचिव चुडामणि खड्काले भने, ‘सहमतिकै आधारमा संविधान जारी गर्ने प्रतिवद्धता चाहियो । त्यसो भयो भने हामी वार्तामा बस्न तयार छौं ।’
प्रचण्डले सहमतिबाट संविधान जारी गर्ने ग्यारेन्टी नभएसम्म आफूहरुको आन्दोलनको कार्यक्रम समेत जारी रहने जानकारी प्रमलाई गराएका छन् ।
प्रचण्डको कुरा सुनेपछि प्रधानमन्त्री कोइरालाले उनलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका थिए । प्रम कोइरालाले आफूले सकेसम्म पहल गरेर वार्ताको वातावरण बनाउने प्रतिवद्धता प्रचण्डसँग गरेका बालुवाटार स्रोतले जनाएको छ ।
संविधान निर्माणमा देखिएको गतिरोध हटाउन दुई नेताबीच बालुवाटारमा वार्ता भएको हो । वार्तामा प्रधानमन्त्री कोइरालाले प्रचण्डलाई आन्दोलन छाडेर संवादमा फर्किन आग्रह गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।