सिमरामा आन्दोलन चर्कियो
काठमाडौँ, ६ फागुन ।बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा विस्तार नगर्ने सरकारी निर्णयको विरोधमा चौथो दिन बुधबार पनि सिमरालगायत आसपासका सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् ।स्थानीय राजनीतिक दलको अगुवाईमा भएको आन्दोलनमा व्यवसायी, नागरिक समाजका अगुवा र संघ–संस्थाको साथ रहेको छ । प्रदर्शनकारीले मध्यान्ह १२ बजेदेखि राजमार्ग र बजार पूर्णरुपमा ठप्प पार्ने जनाएका छन् । आन्दोलनको क्रममा प्रदर्शनकारीले तीन दिनयता दैनिक तीन घन्टा राजमार्ग र बजार बन्द गराउँदै आएका छन् ।
सरकारले सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय खारेज गरेको जनाएपछि यस भेगका सर्वसाधारण आन्दोलित बनेका हुन् ।सरकारले निर्णय फिर्ता नलिएसम्म चक्काजाम र आन्दोलनको समय थप गर्दै जाने र ७ गतेसम्म सुनुवाइ नभए फाल्गुन ८ गतेदेखि १२ गाविसमा अनिश्चितकालीन चक्काजाम र आम हडताल गर्ने चेतावनी उनीहरुले दिएका छन् ।यसअघि सेवा केन्द्र सिमरामा विस्तार गर्ने सरकारी निर्णयविरुद्ध कलैयामा आन्दोलन चर्किएको थियो ।