सिमरामा आन्दोलन जारी

२०७१ फाल्गुन ९ गते, शनिबार

काठमाडौं । बाराको सिमरामा मालपोत र नापी कार्यालयको थप सेवा केन्द्र स्थापना गर्ने पुरानो सरकारी निर्णय उल्टिएको विरोधमा जारी आन्दोलन आज सातौं दिनमा प्रवेश गरेको छ ।आज पनि बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग ठप्प पारेका छन् भने सिमराको १२ गाविसमा बजार पूर्ण रुपमा ठप्प बनाएका छन् ।हिजो गृह मन्त्रालयका सहसचिव कृष्ण प्रसाद देवकोटाले बिज्ञप्ति मार्फत तत्काल बिरोधका कार्यक्रम स्थगित गर्न आग्रह गरेसंगै प्रदर्शनकारी झनै आन्दोलित बनेका हुन् ।अहिले सिमराको चोक चोकमा प्रदर्शनकारीले नारा जुलुस निकालिरहेका छन् ।
स्थानीय राजनीतिक दलहरुको अगुवाईमा भएको आन्दोलनमा स्थानिय व्यवसायी, नागरिक समाजका अगुवा र स्थानिय संघसंस्थाको साथ रहेको छ ।
सरकारले सिमरा आसपासका १२ गाविसका जनतालाई सेवा सहज बनाउन मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय खारेज गरेको जनाएपछि यस भेगका सर्वसाधारण आन्दोलित बनेका हुन् ।
सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलन फिर्ता नलिने उनिहरुको चेतावनी छ ।यस अघि सेवा केन्द्र सिमरामा बिस्तार गर्ने सरकारी निर्णय बिरुद्धमा कलैयामा पनि आन्दोलन भएको थियो ।आन्दोलनकै क्रममा हिजो पनि सिमरामा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप हुंदा एक दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]