स्वाइनफ्लु रोकथामको पहल गरिँदै
काठमाडौ, १२ फागुन। स्वाइनफ्लुका बिरामी भेटिनेने क्रमले तीब्रता पाएपछि सरकारले सीमा नाका र विमानस्थल क्षेत्रबाट आवतजावत गर्ने मानिसको स्वास्थ्य परिक्षणमा कडाइ गर्ने भएको छ ।स्वाइनफ्लुका संक्रमितहरुको पहिचान र पूर्वसचेतनाका लागि सम्बन्धित निकाय र मातहतका विभागलाई निर्देशन दिइएको स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए । उनका अनुसार स्वाइनफ्लुको नियन्त्रण र सचेतना जगाउनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमानासँग जोडिएका नाकामा लेजर मेसिनबाट जाँच गर्ने, उपचारको व्यवस्था मिलाउने लगायतका कामलाई आजैबाट तीब्रता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो रोगबाट बच्नका लागि संयुक्त रुपमा प्रयास थाल्ने सहमति स्वास्थ्य र अर्थ मन्त्रालयका उच्च अधिकारीबीच भएको प्रधानमनत्री कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए ।
स्वाइन फ्लुबाट संक्रमित ५ जना काठमाडौंमा र थप २ जना पोखरामा भेटिएपछि सरकारले सक्रियता देखाएको हो । रोकथाम र पूर्व सचेतनाका लागि रकम अभाव हुन नदिन अर्थ मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिइसकेको छ ।