माओवादीद्वारा सिन्धुपाल्चोक बन्द
काठमाडौ, १३ फागुन। भोटेकोशी पावर कम्पनी र पाँच राजनीतिक दलबीच भएको ६ बुँदे सहमती खारेजीको माग गर्दै नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । बन्दका कारण आज बिहानैदेखि सिन्धुपाल्चोकबाट कुनै पनि सवारीसाधन काठमाडौ भित्रिएका छैनन् भने काठमाडौबाट पनि सिन्धुपाल्चोक आउन सकेका छैनन् । बन्द सफल पार्न भन्दै माओवादीका कार्यकर्ताहरु चोकचोकमा जम्मा भएका छन् ।
गत पुस ९ गते भोटेकोशी कम्पनी र ५ राजनीतिक दलबीच स्थानीयलाई ६ प्रतिशत सेयर दिने गरी कम्पनी र राजनीतिक दलबीच भएको सहमति जनविरोधी र जनघाती भएको भन्दै सहमती खारेजीको माग गर्दै दबाबस्वरुप बन्दको आह्वान गरेको हो ।
आयोजनाले दिने शेयर कुनै राजनीतिक दल विशेषलाई नभई समानुपातिक ढङगबाट लक्षित बर्गसम्मको पहुँच पुग्ने गरी बितरण गरिनु पर्ने, डलरमा भएको पिपीए सम्झौता तत्काल खारेज गरी सर्वसुलभ विद्युत सेवा उपलब्ध गराउनु पर्ने तथा स्थानीयलाई ६ प्रतिशत नभई २० प्रतिशत सेयर दिनुपर्ने माग पनि गरेका छन् ।