देशभरको मौसममा बदली
काठमाडौं ,१४ फाल्गुन ।आज काठमाडौं उपत्यका लगायत देशैभर आज मौसम बदली भएको छ । अघिल्ला दिनहरुमा बिहान केहीबेर घाम लागेर दिउँसो आंशिक बदली हुने गरेपनि आज भने विहानैदेखि बादलले आकाश ढाकेको छ ।उपत्यकाको भिजिबिलिटि कमजोर हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज विहान हुने सबै उडान प्रभावित भएका छन् ।आज बिहानको भिजिबिलिटि १५ सय मिटर मात्रै रहेकोले सिभिल तथा सैनिक प्रयोजनका कुनैपनि उडान हुन नसकेको स्रोतले बतायो ।
आज काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भईरहेको छ ।पश्चिमी वायुका कारण केही दिनदेखि मौसम बदली भैरहेकोले आज दिउसोसम्म केही स्थानमा मेघ गर्जनसहित पानी पर्नसक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो पश्चिम नेपालबाट छिरेको पश्चिमी वायु आज विहान काठमाडौं आईपुगेको र साँझसम्म पुर्वी नेपालमा पुग्ने मौसमविद वरुण नेपालले जानकारी दिए ।
आज दिउसोसम्म मौसम बदली हुने र साँझबाट मौसम सुध्रने उनको भनाइ छ । आज सुदुरपश्चिमको डडेल्धुरामा सबैभन्दा बढी पानी परेको छ ।