तत्काल पार्टी एकता हुदैंन : गजुरेल

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौँ, ३ चैत्र । नेकपा – माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीसँग तत्काल पार्टी एकता नहुने स्पष्ट पारेका छन् । आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सो पार्टीको जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तत्काल दुई पार्टीको एकता सम्भव नरहेको बताए ।
उपाध्यक्ष गजुरेलले संविधान सभाबाट नयां संविधान निर्माण गर्ने सबाल अन्त्य भैसकेको जिकिर पनि गरे । कांग्रेस र एमालेले दुई तिहाई बहुमतको भरमा संविधान जारी गरे देशमा द्धन्द निम्तिने भविष्यवाणी उनको थियो । यता हिजो मात्र सशस्त्र युद्ध लडेका तर विभिन्न समूहमा विभाजित माओवादीहरुबीच पार्टी एकताको वातावरण तयार गर्ने भन्दै ‘माओवादी आन्दोलन पुर्नगठन अभियान’ सन्चालनको औपचारिक घोषणा गरेको थियो । पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी), मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुको भेला आयोजनामार्फत् यस्तो अभियान घोषणा गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]