नुवाकोट कृषि मेला चैत्र १७ देखि
काठमाडौ, ५ चैत ।५८ औं राष्ट्रिय सहकारी दिवस अवसर पारेर नुवाकोटमा प्रथम नुवाकोट कृषि मेला हुने भएको छ । यहि चैत्र १७ गतेदेखि २० गतेसम्म विदुरस्थित जिल्ला सहकारी संघको बहुउद्देश्यीय व्यवसायिक भवनमा मेला सञ्चालन हुने लागेको हो । ‘प्रथम नुवाकोट कृषि मेला २०७१’(कृषि उत्पादन, यन्त्र, औजार र प्रविधि प्रदर्शनी) नाम दिइएको मेलामा कृषक, कृषि उद्यमी, व्यवसायी, कृषक समूह, सहकारी संघसंस्थाहरुलाई आफ्नो उत्पादन सहित सहभागिता रहने आयोजक ५८ औं राष्ट्रिय सहकारी दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले जानकारी दिए । मेलामा जिल्लाका कृषि उत्पादन र कृषिको लागि आवश्यक औजार र प्रविधि उत्पादकहरुको प्रदर्शनी हुनेछ ।
मेलामा उत्पादन प्रदर्शनीको लागि स्टल निशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । मेलामा हरेक दिन कृषि विज्ञ र कृषकबीच विभिन्न विषयमा अन्तरसम्बाद समेत सञ्चालन गरि कृषि उत्पादनमा भएका समस्या, बिउबिजनको प्रयोग, लागत, बजारीकरणको शैली, नुवाकोटको कृषि संभावना लगायतको विषयमा जानकारी दिने योजना रहेको संयोजक बैकुण्ठले बताए ।
कृषि मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न संघका सञ्चालक शिव अधिकारीको संयोजकत्वमा कृषि मेला व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा सञ्चालकहरु रमेश श्रेष्ठ, श्रीराम पाण्डे, हरिबहादुर बस्नेत, पुष्कर बोगटी, डिभिजन सहकारी कार्यालयm जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, वागवानी केन्द्र, जिल्ला भूसंरक्षण कार्यालय, मत्स्य अनुसन्धान केन्द्र, जिल्ला वन कार्यालय, महिला तथा बालबालिका कार्यालय, गैरसरकारी महासंघ, जिल्ला लघु उद्यमी संघ, गाविस सचिव हकहित संरक्षण केन्द्र, कृषि सहकारी संघ, कफि सहकारी संघ र बागमति कृषि कजेजको प्रतिनिधीहरु रहेका छन् ।
देशको निर्यातमुलक उत्पादनलाई बृद्धि गराउन मेलाले सहयोग पुर्याउने आयोजकले जनाएको छ । कृषिमा पुजी, सीप र प्रविधीको माध्यमबाट उत्पादनमा प्रेरित गर्ने र उत्पादित वस्तुहरुको मुलुकको आयात प्रतिस्थापन गराउन सहकारीहरुको भूमिका महत्वपूर्ण हुने र यसको लागि मेला फलदायी हुने जिल्ला सहकारी संघले जनाएको छ ।