एमाओवादीसँग झुक्दैनौं : वैद्य
काठमाडौ,५ चैत । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकताका नाममा एमाओवादीसँग नझुक्ने बताएका छन् ।तत्कालिन जनयुद्धको क्रममा काभ्रेको अनेकोटमा मारिएका सांस्कृतिककर्मीहरुको सम्झनामा माओवादीले मनाउँदै आएको प्रतिरोध दिवसका अवसरमा अखिल नेपाल जनसंस्कृतिक महासंघले घट्टेकुलोमा आयोजना गरेको कार्यक्रममा वैद्यले कसैसँग पनि आत्मसमर्पण नगर्ने बताए ।
‘हामी जानीबुझीकन एमाओवादीसँग एकताको कुरा अगाडि बढाएका हौं,’ वैद्यले भने, ‘हामी आत्मसमर्पण पनि गर्दैनौं, हामी झुक्दैनौं ।’
‘सेना समायोजन गर्नु गल्ती भयो भनेर अहिले उहाँहरुले भन्नुहुन्छ,’ एमाओवादी नेता तर्फ इंगित गर्दै वैद्यले भने, ‘गल्ती गरेको स्वीकार गर्ने हो भने छलफलमा बसौं र समीक्षा गरौं भनेर नै हामीले वार्ता समिति गठन गरेका हौं ।’
उनले आफूहरु फुट्न मात्र नभई जुट्न पनि जानेको बताए । माओवादी आन्दोलनलाई कसरी एकतावद्ध गर्ने भन्नेबारेमा आफूहरुले सोंचीरहेको उल्लेख गर्दै वैद्यले सच्चा क्रान्तिकारीहरुलाई एक ढिक्का गर्न भने गाह्रो भएको बताए ।
अहिलेको विभाजन अस्थायी विभाजन भन्दैले उनले फेरि एक ढिक्का भएर अघि बढ्ने प्रतिवद्धता दोहोर्याए ।