शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार नछिन : प्रकाण्ड

काठमाडौं । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार नछिन्न सरकारलाई आग्रह गरेका छन् । पछिल्लो समयमा भइरहेका ठूला आयोजनाहरुमा राष्ट्रघात भइरहेको र त्यसमा सबैभन्दा बढी भूमिका लगानी वोर्डको रहेको भन्दै नेकपा माओवादीले नेपाल लगानी वोर्डका कार्यकारी निर्देशकको घरमा विरोध प्रदर्शन गरेको थियो । सांकेतिक रुपमा गरिएको उक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै माओवादीका प्रवक्ताप्रकाण्डले आपत्ती जनाएका हुन् । प्रवक्ता प्रकाण्डले वर्तमान सरकारले संविधानले जनतालाई प्रदान गरेको अधिकारको अपमान गरेको र कानुनको उल्लंघन गरेको बताएका छन् । शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने सामान्य प्रजातान्त्रिक अधिकार नै भएको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले प्रजातन्त्रको दुहाई दिने नेताहरुले नेतृत्व गरेको सरकारले नै यस्तो क्रियाकलाप गर्नु अनौठो भएको बताए । प्रजातन्त्रको दुहाइ दिनेहरुले कम्तीमा आफूले भन्ने गरेको प्रजातन्त्रका मान्यताहरु पालना गर्नुपर्ने उनको भनाई छ । नेपालको अहिले मौजुदा संविधानले आफूलाई गलत लागेको कुरामा विरोध गर्न पाउने अधिकार दिएको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले वर्तमान सरकारको यो सरासर संविधानलाई धज्जी उडाउने कार्य भएको बताए । साथै उनले यसबारेमा गम्भीर रुपमा सोच्न पनि आग्रह गरेका छन् ।
प्रवक्ता प्रकाण्डले यदि अहिले आफूहरुले देशमा भइरहेका विकृति विसंगति, भ्रष्टाचार, कालोबजारी, कमिसनखोरी र दलालीको विरोध मात्र गरिरहेको बताए । त्यस्ता कार्यक्रमहरु अहिले आफूहरुले पूर्ण रुपमा शान्तिपूर्ण भएको पनि अवगत गराए । यसरी शान्तिपूर्ण रुपमा विरोध गर्दा पनि यदि दमन गरिन्छ भने त्यसपछि जाने ठाउँ कहाँ हुन्छ भनेर सोच्न पनि उनले सरकारलाई आग्रह गरेका छन् । प्रवक्ता प्रकाण्डले भने, “पहिलो कुरा त यस्ता गलत कार्यहरु रोक्ने दायित्व सरकारको नै हो । कानुनद्वारा दण्ड दिनुपर्ने सरकारले हो । तर, सरकारमा रहनेहरु नै यसरी भ्रष्टाचार, कमिसन र दलालीमा चुर्लुम्म डुबेका छन् कि जसका कारण कसैले विरोध गर्यो भने त्यो विरोध गर्नुलाई अनौठो ठान्दछन् । भ्रष्टाचारको विरोध गर्नुलाई कानुन विपरित ठान्छन्् । यदि यसो गरिन्छ भने, जनताले सरकारबाट उल्टै असुरक्षा महशुस गरे भने त्यसको प्रतिवाद गर्नुको विकल्प रहँदैन ।” प्रवक्ता प्रकाण्डले यसबारे गम्भीर भएर सोच्न र यस्ता व्यवहार आफूहरुसँग नदोहोर्याउन आग्रह गरे ।
उनले आफ्ना गिरफ्तार भएका कार्यकर्तालाई तत्काल ससम्मान रिहा गर्न आग्रह गरेका छन् । साथै उनले जनताको राजनीतिक अधिकारलाई नछिन्न पनि सरकारसँग आग्रह गरेका छन् ।