दोषीलाई बर्खास्त गर : डा. केसी
काठमाडौ, १६ चैत । अनशनमा बसेका डा. गोविन्द केसीले दोषीलाई बर्खास्त गर्न माग गरेका छन्। हिजो सरकारका प्रतिनिधि र अनशनमा बसेका डा. गोविन्द केसी पक्षका चिकित्सकबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। अनशनको आठौं दिन वार्ता गर्न स्वास्थ्यमन्त्री खगराज अधिकारी र सरकारका मुख्य सचिव लीलामणि पौड्याल टिचिङ अस्पताल पुगेका थिए। उनीहरूले केसी पक्षका चिकित्सक योगेन्द्रप्रसाद सिंह नेतृत्वको टोलीसँग वार्ता गरेका हुन्।
वार्तापछि मुख्य सचिव पौड्यालले डा. केसीका मागका विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए। ‘वार्तामा विस्तृत छलफल भयो’, पौडेलले भने, ‘तर हामीले केही होमवर्क गरेर आउनुपर्ने देखिएको छ, त्यसै गर्छौं हामी।’
वार्तामा बसेका चिकित्सकले शिक्षामन्त्रीको राजीनामा वा बर्खास्ती, काठमाडौं र त्रिभुवन विश्वविद्यालय तथा मेडिकल काउन्सिलका पदाधिकारीको राजीनामापछि मात्र डा. केसी सम्झौता गर्न तयार हुनसक्ने बताएका थिए।
केसीलाई विगतमा पटकपटक झुक्याएकाले यसपटक तत्काल गर्न सकिने महत्त्वपूर्ण बुँदामा सम्झौता नगर्ने र सरकारले खास कदम चालेर आएपछि मात्र बाँकी नीतिगत बुँदामा सम्झौता गर्ने अडान उनीहरूले लिएका हुन्।
‘दुई विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारीको बर्खास्ती र शिक्षामन्त्रीको राजीनामा वा बर्खास्ती भएपछि मात्र सरकारका तर्फबाट वार्ता र सम्झौताका लागि भूमिका निर्वाह गरेको ठानिनेछ’, डा. सिंहले भने, ‘परिस्थिति हेरेर बाँकी बुँदामा डा. केसी सम्झौता गर्न तयार हुनुहुनेछ।’
यसअघि शुक्रबार वार्ता गर्न गएको सरकारी टोलीलाई डा. केसीले फर्कादिएका थिए। आफूले कारबाही माग राखेका व्यक्तिलाई नै वार्ताको जिम्मा दिएको भन्दै केसीले शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई फर्काइदिएका थिए।
केसीको स्वास्थ्य अवस्था खस्किएपछि आईसीयूमा राखेर उपचार गर्ने तयारी भएको छ। उनको छाती, टाउको तथा मांसपेशी दुख्ने समस्या देखिएको छ। उनी बेलाबेलामा अर्धबेहोस पनि हुने गरेका छन्।
यस्तै रगतमा म्याग्नेसियम, पोटासियम र बाइकार्बोनेटको मात्रा घटेको छ। ‘यस्तो अवस्थामा कुनै पनि बेला अप्ठेरो स्थिति आउन सक्छ’, साँझ जारी गरिएको केसीको स्वास्थ्य अवस्थाको बुलेटिनमा उल्लेख छ। रक्तचाप, नाडीको गति र रगतमा अक्सिजनको मात्रामा पनि उतारचढाव भइरहेको जनाइएको छ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निष्ठा र इमानदारीका लागि डा. गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता जनाएका छन्। केसीलाई भेट्न आइतबार अस्पताल पुगेका रेग्मीले स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि केसीले देखाएको चासोलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि अनशनप्रति ऐक्यबद्धता जनाएका छन्।