गौरमा लगाइएको कफ्यू हट्यो

२०७१ चैत्र २२ गते, आईतवार

काठमाडौ, २२ चैत । रौतहट सदरमुकाम गौरमा हिजो दिउँंसो २ बजेबाट स्थानीय प्रशासनले लगाएको कफ्र्यु आज बिहान चार बजेबाट हटाइएको छ । विरोध प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि कफ्र्यु आदेश जारी गरेको थियो । हिजो नेपाल रेडक्रस सोसाइटी रौतहटको मध्यस्तकर्तामा सरकारको तर्फबाट स्थानीय प्रशासनका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र आन्दोलनकारीको तर्फबाट उद्योग बाणिज्य संघका अध्यक्ष कन्तमणी जयसवाल, एमाओवादीका सभासद असोक जैसवाल, तमलोपा, फोरम लोकतान्त्रिक, सद्भावनाका नेताहरुसहित भएको वार्तामा सहमति हुन नसकेपछि अहिले आठ बजेदेखि पुनः वार्ता हुंदैछ ।
सुरक्षाकर्मीले घरहरुमा तोडफोड र लुटपाट गरेको तथा सशस्त्र प्रहरीको गाडीले स्थानिय रामआशिष ठाकुरलाई ठक्कर दिएर मारेको भन्दै हिजो बिहानैदेखि गौरमा आन्दोलनकारीले प्रदर्शन थालेका थिए । नापी र मालपोत कार्यालयका सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्ने निर्णय भने सरकारले शुक्रबार नै खारेज गरेको थियो । आन्दोलनकारीले तोडफोड र लुटपाट गर्ने सुरक्षाकर्मीलाई कारवाहीको माग, मृतकलाई शहीद घोषणा, घाइतेको उपचार र क्षतिपूर्ती लगायत सात बूंदे माग राखेका छन् ।
प्रहरी र प्रदर्शनकारी बीच हिजो गौरको मुख्य बजार र बीपीचोकमा पटकपटक झडप भएको थियो । आक्रोसित स्थानियले प्रहरीको एउटा गाडीमा आगो समेत लगाइदिएका थिए । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ३० जनाभन्दा बढी घाइते भएका थिए भने ६ जनालाई रवरको गोली लागेको थियो । स्थानीयको प्रदर्शनको कारण चार दिनदेखि गौर बजार पूर्ण रुपमा बन्द छ भने गौरदेखि चन्द्रनिगाहपुरसम्मको सडकमा सवारीसाधन चलेका छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]