चोरले नै पुलिस कुटेपछी
काठमाडौँ ।भारतीय राज्य पंजावको लुधियानामा चोरी गरेर भागेका रवि कुमारलाई जब प्रहरीले पक्राउ गर्न खोज्यो तब करिब आधा घण्टासम्म फिल्मी ड्रामा चल्यो । प्रहरी चौकीभन्दा करिब डेढ सय मिटरको दूरीमा रहेको भिडभाडयुक्त इएसआई रोडस्थित एउटा पसलमा बसेका रविकुमार आफूलाई पक्राउ गर्न आएका दुई जना प्रहरीमाथि खनिए ।
फरार रवि कुमारले एक जना प्रहरीको पगडी ताने । अर्का प्रहरी चौकीमा खबर गर्न मात्र के लागेका थिए उनको मोबाइल नै खोसे । आपसी खिचातानीमा रवि कुमारको सबै कपडा च्यातियो । उनले पनि एक जना प्रहरीको पोशाक च्यातिदिए । मुख्य सडकमा भएको यो फिल्मी शैलीको घटना टोलबासी र बटुवाहरु रमाइलो मानेर हेरिरहेका थिए । चोर र पुलिसको यो छिनाझप्टी थाहा पाएर टोलबासी महिलाहरुले बाहिर खेलिरहेका आआफ्नो बालबच्चालाई घिसार्दै घरभित्र लगेर ढोका लगाए । करिब आधा घण्टापछि प्रहरीले रवि कुमारलाई नियन्त्रणमा लियो र भ्यानमा हालेर लग्यो । यो थाहा पाउने बित्तिकै रवि कुमारका परिवार उनलाई रिहा गर्न अनुरोध गर्दै प्रहरी चौकी पुग्यो । तर, पक्राउ गर्न जाँदा आफैमाथि खनिएका रवि कुमारका परिवारलाई प्रहरीले भगायो ।- एजेन्सी