३० दलीय मोर्चाको बैठक बस्दै
काठमाडौ, २३ चैत । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आज दिउँसो ४ बजे एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा अहिलेको समसामयिक राजनीतिक गतिविधि र सत्तारुढदलसंग भएको अनौपचारिक छलफलका बारेमा समीक्षा गरिने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।अहिलेसम्मको अवस्थामा सत्तापक्षीय दलका शीर्ष नेताहरुले बहुमतीय प्रक्रियाबाट पछि हट्ने संकेत नदेखाएकाले भोलिदेखि आव्हान गरिएको आमहड्तालमा फेरबदल हुने सम्भावना कम रहेको सिंहको भनाइ छ ।
यसैबीच आममाफी सम्बन्धि सर्वोच्चले गरेको पछिल्लो फैसलाको विरोधमा एकीकृत माओवादीले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो एक बजे काठमाडौमा विरोध प्रदर्शन गर्नुका साथै देशका अन्य मुख्य शहरमा पनि प्रदर्शन गरिने एकीकृत माओवादीका नेताहरुले बताएका छन् ।
द्धन्द्वकालका जघन्य अपराधमा संलग्नलाई आममाफी दिन नसकिने र अदालतमा दायर भइसकेका मुद्दा अदालतबाटै टुङग्याउनुपर्ने सर्वोच्चले परमादेश जारी गरेपछि एकीकृत माओवादीले त्यसको विरोध गर्दै निर्णय सच्याउन माग गरिरहेको छ ।