सर्वोच्चको फैसलाविरुद्ध सबै माओवादी सडकमा
काठमाडौं, २३ चैत । सर्वोच्च अदालतको अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र नपर्ने फैसलाविरुद्ध सबै माओवादी पार्टीहरुले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।एकीकृत नेकपा माओवादी, तीन वटा नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा एकीकृतले सर्वोच्च अदालतको फैसलाको विरोधमा सोमबार देशैभरका जिल्ला सदरमुकाममा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौको प्रदर्शनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य आफैं सहभागी हुनुभएको थियो । पार्टी विभाजनपछि दाहाल र वैद्यसँगै सडकमा उत्रिएको पहिलो पटक हो । सर्वोच्च अदालतले गत फागुन १४ गते सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनमा रहेको आममाफी दिने व्यवस्था खारेज गरी अदालतमा विचाराधीन द्वन्द्वकालिन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र नपर्ने फैसला सुनाएपछि सबै माओवादी पार्टीहरु कार्यगत एकता गर्ने अवस्थामा आएका हुन् ।बबरमहलबाट निकालिएको जुलुस माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धाराहुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा बोलेका माओवादी नेताहरुले द्वन्द्वकालीन मुद्दामा माओवादीका नेता तथा कार्यकर्ताहरुलाई जेल हाल्ने सपना नदेख्न न्यायाधीशहरुलाई चेतावनी दिए । उनीहरुले सर्वोच्चको फैसला शान्ति सम्झौताको भावना विपरित भएको भन्दै फैसला सच्याउन माग गरे ।
उनीहरुले सर्वोच्चको फैसला नसच्याइ अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रिया विथोलिने र त्यसको परिणाम निकै भयावह हुने चेतावनी दिए ।सभामा पार्टीका शिर्ष नेताहरु पुष्पकमल दाहाल र मोहन वैद्यले भने सम्बोधन गरेनन ।
दाहाल र वैद्यका सामुन्ने दोस्रो तहका नेताले सर्वोच्चको फैसला सच्याउन र जनयुद्धको भावना अनुसारको संविधान बनाउनका लागि सडक आन्दोलनलाई चर्काउनुपर्ने र सडक आन्दोलनले नै पार्टी एकताको वातावरण बनाउने बताए ।