रौतहटको अवस्था तनावग्रस्त

२०७१ चैत्र २३ गते, सोमबार

काठमाडौं, २३ चैत । रौतहटको चन्द्रनिगाहपुरमा सेवा कार्यालय स्थापना गर्ने सरकारी निर्णयविरुद्ध चर्किएको आन्दोलनले छुट्टैरुप लिन थालेको छ ।गौरमा सोमबार पुनः आन्दोलन चर्किरहेका बेला सीमावर्ती भारतीय भूमिबाट नेपालतर्फ लगातार गोली प्रहार भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।नेपाल–भारतबीचको दसगजा क्षेत्रमा पर्ने पुनर्वासा र नवरत्नस्थित बाँसघारीमा लुकेका समूहले नेपाली भूमितर्फ लक्षित गरेर निरन्तर गोली तथा बम प्रहार गरेको प्रहरीले जनाएको छ ।करिब दुई सयको संख्यामा रहेका भारतीयहरुले सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बलको क्याम्प र प्रहरी पोस्टलाई लक्षित गर्दै फायरिङ गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।नेपाली सुरक्षा निकायले भारतीय सुरक्षा फौजसँग समन्वय गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय पक्षसँग समन्वय गरेर स्थितिलाई सामान्य बनाउने प्रयास भइरहेको बताएका छन् ।सोमबारै गौरमा आन्दोलनकारीले सशस्त्र प्रहरी बलको बेलबिछुवास्थित बेस क्याम्पमा पेट्रोल बम आक्रमण गरेका थिए । पेट्रोल बम प्रहारबाट क्याम्पमा आगो लागेको थियो ।आगजनीलाई तत्काल नियन्त्रणमा लिइएको थियो भने पेट्रोल बम प्रहार गरेपछि आन्दोलनकारी त्यहाँबाट भागेको सशस्त्र प्रहरी प्रमुख एसपी विदुर खड्काले जानकारी दिए । त्यसक्रममा भएको झडपमा ११ जना घाइते भएका थिए ।आन्दोलनकारीले क्याम्प आसपासको संरचना पनि तोडफोड गरेका छन् । गौरका एक स्थानीयको घाँटी रेटेर हत्या भएको सूचना बाहिर आएपछि सोमबार बिहानैदेखि गौरमा आन्दोलन चर्काइएको हो । वार्ताका लागि काठमाडौंबाट गएको टोली फर्केको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु