३० दलीय मोर्चाको बन्द, जनजीवन प्रभावित

२०७१ चैत्र २४ गते, मंगलवार

काठमाडौ, २४ चैत। एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले सत्ताधारी दललाई सहमतिका लागि दवाव दिन भन्दै आव्हान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । संविधानका विवादित विषयमा काङ्ग्रेस–एमाले लगायतका दल प्रक्रियामा जान खोजेका कारण उनीहरुलाई सहमतिका लागि दवाव दिन बन्द गर्नु परेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
राजधानी लगायतका बिभिन्न जिल्लामा बन्दकर्ताहरु चोकचोकमा भेला भएर बन्द गराउँदै हिडेका छन् । भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिडेका छन् ।बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । काठमाडौंको बिजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यानमा तोडफोड गरेका छन् ।
प्रहरीले दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको जनाएको छ । एकीकृत माओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौ सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीन कुने प्रहरीमा राखिएको छ । बालकुमारीमा पनि बन्दकर्ताहरुले एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]